म्याड्रिड– स्पेनिस महारथी रियल म्याड्रिडले ब्राजिलियन फरवार्ड नेइमारलाई आबद्ध गर्न छलफल अघि बढाएको छ। हाल फ्रेन्च क्लब पिएसजीमा आबद्ध रहेका नेइमारलाई भित्र्याउने विषयमा अध्यक्ष फ्लोरेन्टिनो पेरेजले छलफल अघि बढाएका हुन्। पेरेजले नेइमारका बुबासँग कुराकानी गरिरहेको स्पेनिस मिडियाहरुले सार्वजनिक गरेका छन्।
नेइमार गत सिजन बार्सिलोनाबाट १ सय ९८ मिलियन पाउन्डमा पिएसजीमा आबद्ध भएका थिए। नेइमारले सिजनमा १२ खेल खेल्दै ११ गोल गरिसकेका छन्।
स्पेनिस पत्रिका मुन्डो डिपोर्टिभोका अनुसार रियलका अध्यक्ष पेरेज र नेइमारका बुबाबीच नेइमार फेरि स्पेन फर्कने विषयमा लामो छलफल भएको थियो। यसअघि २०१३ मा पनि रियलले ब्राजिलियन क्लब सान्तोसबाट नेइमारलाई भित्र्याउन चाहेको थियो। तर बार्सिलोनाले नेइमारलाई आवद्ध गर्न सफल भएको थियो।
चार सिजन खेलेपछि नेइमार अहिले पिएजसीमा गएका हुन्। हाल पिएसजीमा नेइमार खुसी रहेको बताइएको छ।
नेइमारका लागि रियल म्याड्रिडमा स्थान जहिले पनि खुला रहेको अध्यक्ष पेरेजले बताएका थिए। तर नेइमारका बुबाले रोनाल्डोको बहिर्गमनपछि मात्र नेइमार रियल म्याड्रिडमा आउने पेरेजलाई जवाफ दिएका थिए।
रोनाल्डो र रियलबीच सन् २०२१ सम्म सम्झौता छ। त्यसपछि नेइमारलाई रोनाल्डोको स्थान लिनेगरी भित्र्याउन सकिने पेरेजले नेइमारका बुबालाई बताएको स्पेनिस पत्रिकाले उल्लेख गरेको छ।
नेइमार अहिले पिएसजीलाई उपाधि जिताउन केन्द्रित छन्। सिजनमा उपाधि जिताएर आफ्नो उचाइ बढाउन आतुर नेइमार पिएसजीमा खुसी देखिएका छन्। किनकि पिएसजीमा ब्राजिलका डानी अल्भेस, मार्किउनोस, थिएगो सिल्भा र लुका माउरा छन् र उनीहरुसँग नेइमारको तालमेल मिल्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।