काठमाडौं– नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने आइपिएल क्रिकेटको आफ्नो चौथो खेलमा महँगो सावित भएका छन्।
दिल्ली क्यापिटल्सका बलर सन्दीपले आइतबार रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्धको खेलमा १ विकेट लिँदा ४६ रन खर्चिए। खेलमा सन्दीपले चार ओभरमा २ चौका र ४ छक्का दिए। उनलाई १७औं ओभरमा भारतीय कप्तान विराट कोहलीले लगातार २ छक्का प्रहार गरेका थिए।
सन्दीपले खेलमा मोइन अलीलाई ३२ रनमा आउट गरे। १ चौका र ३ छक्का प्रहार गरेर आउट हुनुअघि अलीलाई सन्दीपले विकेटकिपर रिशव पन्तबाट स्टम्ट गराएका थिए। योसँगै सन्दीपले टी–२० खेलमा ५० विकेट पूरा गरेका छन्। सन्दीपले गत मेमा आइपिएलमा बैंग्लोरविरुद्धकै खेलबाट टी–२० खेलमा डेब्यू गरेका थिए। त्यसयता विभिन्न देशका टी–२० लिग खेल्दै सन्दीपले ४० खेलमा ५० विकेट पूरा गरेका हुन्।
जारी आइपिएलमा सन्दीपले पछिल्ला चार खेल खेल्दै ५ विकेट लिइसकेका छन्। सन्दीपले कोलकाताविरुद्ध १, पन्जावविरुद्ध २ र हैदरावादविरुद्ध १ विकेट लिएका थिए।
खेलमा टस जितेको दिल्लीले बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रन जोडेको छ।
बैंग्लोरका लागि कप्तान विराट कोहलीले सबैभन्दा बढी ४१ रन जोडे। बलिङमा दिल्लीका कागिसो राबाडाले ४ विकेट लिए। उनले ४ ओभरमा २१ रन खर्चिए। क्रिस मोरिसले २ विकेट लिँदा सन्दीप र अक्षर पटेलले १–१ विकेट लिए। बैंग्लोरविरुद्ध बलिङ गरेका पाँच बलर मध्ये सन्दीप सबैभन्दा बढी रन दिने बलर बने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।