काठमाडौं– भारतको हैदाराबादमा एक किशोरले पबजी खेलकै कारण आत्महत्या गरे। पबजीमा लत लागेका १६ वर्षीय किशोर कालाकुरी शाम्बाशिव फुर्सद हुनेबित्तिकै पबजीमा झुम्मिन्थे। आमाले नखेल्न भन्दै गाली गरिन्। अन्ततः उनले आफ्नै घरको सिलिङ फ्यानमा झुडिएर आत्महत्या गरे।
उनी अंग्रेजी परीक्षाको तयारी छाडेर पबजीमा व्यस्त भएपछि आमाले गाली गरेकी थिइन्। पछि उनको मृत्यु भएपछि भारतमा पबजी राष्ट्रिय बहसको विषय बनेको छ।
किशोरका बाबुले उक्त खेल प्रतिबन्ध लगाउनु पर्ने माग समेत राखेका छन्।
भारतकै महाराष्ट्रमा रेलको लिक नजिकै बसेर पबजी खेल्दा रेलको धक्काले दुई जनाको मृत्यु भएको थियो।
भारतको राज्य गुजरातमा पबजी खेल नै प्रतिबन्ध लगाइएको छ। यो खेलले विद्यार्थीहरुलाई बरालेको, हिंस्रक बनाएको भन्दै गुजरातमा पबजी प्रतिबन्ध छ।
प्रतिबन्धपछि पनि उक्त खेल खलेको भन्दै प्रहरीले थुप्रैलाई पक्राउ गरेको छ।
सोही प्रकारको समस्या नेपालमा पनि देखिन थालेको भन्दै बालबालिकाका अभिभावकले प्रहरी समक्ष गुनासो गर्न थालेका छन्।
केही दिनअघि मात्रै एक अभिभावको समूह महानगरीय प्रहरी अपराध महाशाखामा आएर उक्त खेल प्रतिबन्ध लगाइदिन भन्दै आग्रह गरेको महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए।
‘बच्चाहरु राती सुत्दा पनि हानाहान् गर्ने, रिसालु, झगडालु हुने गरेको भन्दै अभिभावकले गुनासो गरेका छन्’ एसएसपी सिंहले भने ‘अहिलेसम्म केही दुर्घटना नभए पनि हुनसक्ने सम्भावना भने अत्याधिक देखियो।'
यसलाई सरकारले नियमन गर्नुपर्ने भन्दै प्रहरीले सुझाव समेत दिइसकेको जनाएको छ।
‘ट्वीटरमा आएका पोर्न भिडियो जसरी सरकारले प्रतिबन्ध लगायो त्यसैगरी पबजी पनि प्रतिबन्ध लगाउनु पर्ने देखियो। नत्र यसले डरलाग्दो रुप लिने देखिन्छ,’ एसएसपी सिंहले भने।
पबजी दक्षिण कोरियाको कम्पनीले विकसित गरेको एउटा एप हो। यसमा खेलाडीले एकअर्कालाई सफाया गर्छन्।
सन् २०१७ मा सुरु भएको यो खेल गत डिसेम्बरसम्म २ सय मिलियन डाउनलोड भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।