सिड्नी (एजेन्सी)– इंग्ल्यान्ड र अस्ट्रेलियाबीचको पारम्परिक एसेज शृंखलाभन्दा अगाडि अस्ट्रेलियाका स्टार तीब्र बलर मिचेल स्टार्कले प्रथम श्रेणीको क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन्।
उनले सिड्नीमा एउटै खेलमा दुई ह्याट्रिक लिँदै विश्व क्रिकेटलाई नै आश्चर्यचकित पारेका छन्। बायाँ हातका यी बलर प्रथम श्रेणी क्रिकेटमा एकै खेलमा दुईवटा ह्याट्रिक गर्ने आठौं र ३९ वर्षको अन्तरालमा यो उपलब्धी आत्मसाथ गर्ने पहिलो बलर हुन्।
उनको अनौठौ कीर्तिमानपछि न्यु साउथ वेल्सले अस्ट्रेलियाको घरेलु सेफिल्ड शिल्डमा वेस्टर्न अस्ट्रेलियालाई पराजित गरेको छ। वेस्टर्न अस्ट्रेलियाको पहिलो इनिङमा स्टार्कले जेसन बेहरेनडोर्फ, डेभिड मुडी र साइमन मेकिनलाई आउट गर्दै करिअरको पहिलो ह्याट्रिक गरेका थिए। दोस्रो इनिङको १५ ओभरमा उनले अन्तिम २ बलमा बेहरेनडोर्फ र मुडीलाई नै आफ्नो सिकार बनाए। यसपछि अघिल्लो ओभरको पहिलो बलमा उनले जोन वेल्सलाई पहिलो स्लिममा स्टिभ स्मिथद्धारा क्याच आउट गराए।
स्टार्कले १ सय ७१ रनको जितमा ९७ रन खर्चेर ७ विकेट लिएका थिए। एसेज शृंखलाभन्दा अगाडि उनको यो प्रदर्शन देखेर धेरैले यसपालि उनको प्रदर्शन विशेष हुने आशा राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।