काठमाडाैं- ‘स्वास्थ्य सेवामा सबैको पहुँच’ पुर्याउनुपर्ने आवश्यकतामा जोड दिँदै नेपालमा पनि विश्व स्वास्थ्य दिवस मनाइँदै छ।
विश्व स्वास्थ्य दिवसको अवसर पारेर आइतबार स्वास्थ्य सेवामा सबैको पहुँच हुनुपर्ने आवश्यकतामा जोड दिँदै देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिँदै छन्।
यसै अवसर पारेर काठमाडौंको वसन्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक सुनिलराज शर्माले नजिकको स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा लिन सबैलाई आह्वान गरे। उनले सरकारले स्वास्थ्य सेवाको पहुँच जनताको घरदैलोमा पुर्याउन आवश्यक व्यवस्था मिलाएको दाबी गर्दै नजिकको स्वास्थ्य संस्थाबाट आवश्यक सेवा लिन आग्रह गरे।
सरकारले चालू आर्थिक वर्ष भित्रैबाट स्वास्थ्यमा सबैको पहुँच पुर्याउने उद्देश्यका साथ देशभर १ हजार २ सय स्वास्थ्य चौकी निर्माणको काम सुरु गरेको छ।
कार्यक्रममा स्वास्थ्यसम्बन्धी चेतना जगाउन चित्रकलाको पनि प्रदर्शन गरिएको थियो।
विश्व स्वास्थ्य संगठन स्थापनाको दिन पारेर हरेक वर्ष अप्रिल ७ का दिन विश्वभर स्वास्थ्य दिवस मनाउने गरिन्छ। हाल विश्वभर करिब ३० करोड मानिसहरु डिप्रेसनको शिकार भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख गरिएको छ।
नेपालमा भने ८ लाख ९० त्यस्ता रोगीहरुको संख्या रहेको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको छ। डिप्रेसनको रोगीको संख्या घटाउन पनि नेपालमा गरिबी र बेरोजगारी समस्या समाधान गर्नुपर्ने चिकित्सकहरुको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।