काठमाडौं- ललितपुरको सबैभन्दा व्यस्त लगनखेलदेखि सातदोबाटोसम्मको सडक विस्तारको काम अघि बढ्न सकेको छैन। स्थानीयवासीले घर र जग्गाको मुआब्जा माग गरेपछि सडकमा २० प्रतिशतभन्दा काम हुन नसकेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ।
सर्वाेच्च अदालतको अन्तरिम आदेशका कारण सडक निर्माणअघि बढ्न नसकेको हो। अदालतको अर्को आदेश नआउँदासम्म काम ठप्प नै भइरहने आयोजनाका इञ्जिनियर विश्वविजयलाल श्रेष्ठले बताए। उनले भने, 'ललितपुरका अन्य ४ ठाउँका सडकजस्तै यस ठाउँको सडक मुआब्जा विवादले गर्दा अघि बढ्न सकेको छैन।'
उपत्यकामा विस्तारका क्रममा रहेका अन्यत्रका सडकमा जस्तै उक्त सडकमा स्थानीयवासीले घर र जग्गा दुवैको क्षतिपूर्ति माग गर्दै आएका आयोजनाले जनाएको छ। पटक-पटक अनुरोध गर्दासमेत सम्बन्धित निकायले भएका संरचना हटाउन चासो नदिएको इञ्जिनीयर श्रेष्ठले बताए। विद्युतका पोललगायतका संरचना हटाउन नसकिएको उनले बताए।
त्यस्तै, स्थानीयवासीले लगनखेलस्थित वटुकभैरव मन्दिरको पर्खाल भत्काउन मानेका छैनन्। उनले भने, 'सडक सम्पन्न हुनुपर्ने अवधि सकिएर थप भएको अवधिमा समेत काम ठप्प छ।'
उक्त सडकको निर्माण २०७३ जेठमा सुरु भएको थियो। पहिलोपटकको ठेक्का सम्झौताअनुसार २०७४ असोजमा म्याद सकिएपछि आयोजनाले एक वर्ष थपेको थियो। अहिले थपिएको अवधिमा काम अघि नबढेको उनले बताए।
ललितपुरमा ५ वटा सडकमा विस्तारको काम मुआब्जाकै कारण ठप्प छ। उपत्यकाभित्र काठमाडौंमा ५ र भक्तपुरको १ सडकमा विस्तारको काम सुरु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।