बार्सिलोना– बार्सिलोना यस सिजनको स्पेनिस ला लिगाको जित्ने अभियानमा बलियो बनेको छ। बार्सिलोनाले शनिबार राति भएको खेलमा अंक तालिकाको दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडलाई २–० गोलले हराएर उपाधि जित्ने निश्चित जस्तै गरेको हो।
जितसँगै अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिकोसँग ११ अंकको अग्रता लिएको छ। बार्सिलोनाले ३१ खेलबाट ७३ अंक जोडेको छ। दोस्रो स्थानको एट्लेटिकोको ६२ र तेस्रो स्थानको रियल म्याड्रिडको ६० अंक छ।
अब बाँकी रहेका ७ मध्ये ४ खेल जिते बार्सिलोनाले उपाधि जित्नेछ। दोस्रो स्थानको एट्लेटिको र तेस्रो स्थानको रियलले अंक गुमाएको अवस्थामा बार्सिलोनालाई अझ सहज हुनेछ।
शनिबार एट्लेटिकोविरुद्ध बार्सिलोनाले अन्तिम ५ मिनेट बाँकी छदा २ गोल गरेको थियो। खेलको ८५ मिनेटमा लुइस सुआरेजले बार्सिलोनालाई अग्रता दिलाएका थिए। लगत्तै लिओनल मेसीले बार्सिलोनाको अग्रता दोब्बर पारे।
त्यसअघि खेलको २८ मिनेटमै एट्लेटिको १० खेलाडीमा सीमित बनेको थियो। एट्लेटिकोका डिएगो कोस्टालाई रेफ्रीले सिधा रातो कार्ड दिएर मैदान बाहिर पठाएका थिए। उनले रेफ्रीमाथि अपशब्द बोलेपछि रातो कार्ड दिइएको थियो।
यता तेस्रो स्थानको रियल म्याड्रिडले एइबारमाथि २–१ को जित निकालेको छ। एइबारले ३९ मिनेटमा कार्डोनाको गोलबाट अग्रता लिएको थियो। तर करिम बेन्जिमाले ५९ र ८१ मिनेटमा गरी २ गोल गर्दै रियलको जित पक्का गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।