हुम्ला- ‘कारागारलाई किताब अभियान’ उपसमितिले कैदीबन्दीका लागि जिल्ला कारागार, हुम्लामा पुस्तकालय स्थापना गरेको छ। कारागारमा रहेका कैदीबन्दीलाई अध्ययन गरी ज्ञान आर्जनमा सहज बनाउन र सकरात्मक परिवर्तन गराउन सकियोस् भन्ने उद्देश्यले कारागारमा पुस्तकालय स्थापना गरिएको हो।
कारागार व्यवस्थापन विभागले तयार पारेको निर्देशिकाअनुसार कर्णाली प्रदेशका प्रहरी प्रमुख महेशविक्रम शाहको अध्यक्षतामा गठन भएको ‘कर्णाली प्रदेश कारागारलाई किताब अभियान’ मूल समितिले प्रदेशका १० जिल्लामध्ये हुम्ला र मुगुबाहेक अन्य जिल्लामा यसभन्दा पहिले नै पुस्तकालय स्थापना भइसकेको उपसमितिका संयोजक एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए।
घर्तीमगरका अनुसार यी दुई जिल्लामा कारागार भवन नभएकाले ढिलाइ भए पनि शनिबार १० जिल्लामा पुस्ताकालय स्थापना भएका छन्।
नवनिर्माण भइरहेको कारागार भवनमा पुस्तकालय स्थापना गरिएको छ। नेपालकाे संविधानमा समानताको प्रत्याभूतिको व्यवस्था गरिएकाले कैदीबन्दीलाई पनि समनताको प्रत्याभूति गराई उनीहरुप्रति पनि मानवीय व्यवहार होस् र स्वअध्ययनका लागि सामग्री पुगोस् भनेर कारागारमा पुस्तकालय स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताए।
पुस्तकालय उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, सिमकोट गाउँपालिकाका अध्यक्षसहित वडाध्यक्ष, लेखक, सरोकारवाला निकायका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थिति थियो। कार्यक्रममा विभिन्न साहित्यकारले पुस्तकालयका लागि पुस्तक प्रदान गरेका थिए। (समाचार-रासस/तस्बिर-सदरलाइन)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।