गाउँको झुप्रोमा धर्ती टेकेको दिन
चकमन्न उज्यालो छाएको थियो
थिएन पूर्णिमाको समय
पहिलो सन्तान भएर जन्मेको हर्षले
केही थान पटाकाले रंगिएको थियो
मेरो प्रिय गाउँ।
म बालक,
आहा बाल्यकाल कति सुखद !
मनमा केही सपनाले डेरा नसजाउँदै
मात्रै खेल्ने सपनाको फेरो समात्दै
आमाको काखमा लडिबुडी र
तातेबामे सर्दै
निर्भीक भएर संसार चिहाउँदै
स्वतन्त्र भएर उडिरहेँ
बन्दै अनवरत यात्री।
म युवा,
कयौं रहर र कहरमा साघुँरिदै
अनेक जिम्मेवारीमा जेलिँदै
बर्खे भेल झैं उर्लिएका
मस्तिष्क ब्युँझाउने
सपनाका महललाई विपनामा उतार्न
दिलोज्यानले भरथेग गरेसम्म
उम्रिएका तमाम सफेद सपनाको
उचाइ चुम्न हिँडेको यात्री।
म वृद्ध,
समय क्रमसँगै केही भेटिए
केही मेटिए
खुसी–बेखुसीको स्पर्श भइरहने
जिन्दगीका अनेक रंग–बेरंगसँग
चिनापर्ची गर्दागर्दै
उमेरको चढ्दो ग्राफले
विर्सजन उन्मुख रहेका
यात्रीका न्याना सपना।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।