काठमाडौं- रोजगारीका लागि २०७० सालमा युएई पुगेका फेदाप-२, तेह्रथुमका खड्गबहादुर जोगी ५ वर्षपछि जेलमुक्त हुने भएका छन्।
उनलाई छुटाउन आवश्यक ब्लडमनी आबुधावीको उच्च अदालतमा बुझाएसँगै उनी जेलमुक्त हुने भएका हुन्।
अब बाँकी अदालती प्रक्रिया पुरा गरेपछि जोगी नेपाल फर्कन सक्ने आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ।
युएईस्थित अल गल्फ डेभलपमेन्ट कम्पनीमा कार्यरत जोगी काम गर्न कम्पनीतर्फ जाँदै गर्दा आफूसँगै बसेका फिलिपिन्सका नागरिक गाडीबाट खसेर मृत्यु भएपछि उनी जेल परेका थिए।
गाडीबाट खसिसकेपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा ती फिलिपिनी नागरिकको मृत्यु भएको थियो।
जोगीसँगै गएका फिलिपिनी नागरिकको मृत्यु भएपछि त्यो घटनालाई हत्याको आशंकामा बयानका लागि जोगीलाई पटक पटक अदालत पुर्याइयो।
अदालतमा जोगीले आफूले हत्या गरेको नभएर ती फिलिपिनी नागरिकको गाडीबाट खसेर उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको बयान दिए।
उनको यस्तो बयानपछि पनि उनलाई नै दोषी ठहर गरी २७ मार्च २०१९ सम्म जेल बस्नुपर्ने गरी २ लाख दिराम अर्थात् ६० लाख नेपाली रुपैयाँ ब्लडमनी तिर्नुपर्ने अदालतले फैसला सुनाएको थियो।
खड्गबहादुर जेल परेपछि उनका परिवारले उद्धारका लागि अपील गरेको थियो।
खड्गबहादुरका परिवारको अपिलसँगै तेह्रथुम घरभई हाल ईजरायल रहेका देव बाँस्कोटाको पहलमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुसँगको सहकार्यमा जोगी बचाउ अभियान सुरु गरेका थिए।
अभियानबाट संकलित ६१ लाख ९४ हजार रूपैयाँ गत फागुन २१ गते मंगलबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बुझाएको खड्गबहादुर जोगी बचाउ अभियान मूल समितिका संयोजक देव बाँस्कोटाले जानकारी दिए।
अब केही बाँकी अदालती प्रक्रिया पूरा भएपछि खड्गबहादुर नेपाल फर्काइने परराष्ट्र मन्त्रालयले जनाएको छ।
खड्गबहादुरका परिवारमा ८४ वर्षीया आमा, श्रीमती, दुई छोरी र एक छोरा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।