राजविराज– हङकङमा सम्पन्न तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपका स्वर्णपदक विजेता अजितकुमार यादवलाई गृहजिल्ला सप्तरीमा सम्मान गर्ने क्रम जारी छ।
उनलाई पछिल्लो पटक संघीय समाजवादी फोरम नेपालकी केन्द्रीय उपाध्यक्ष तथा तराई–मधेश प्रदेश समितिकी संयोजक रेणुकुमारी यादवले उनलाई सम्मान गरेकी छिन्। नगद ५ हजार एक रुपैयाँसहित दोसल्ला ओढाएर उनले सम्मान यादवलाई सम्मान गरेकी हुन्।
पूर्वशिक्षामन्त्रीसमेत रहेकी यादवले देशको शीर उच्च बनाएको भन्दै अजितलाई बधाई पनि दिइन्। खेलाडीको हौसला वृद्धिका लागि सरकारले थप प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ।
यसैगरी, प्रदेश २ का प्रदेशसभा सदस्य अभिषेक यादवले पनि दोसल्ला ओढाएर उनलाई सम्मान गरे। यसअघि गत वुधबार राजविराज नगरपालिकाका मेयर शम्भु यादवले १ लाख १ हजार नगदसहित अजितलाई सम्मान गरेका थिए।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारका तर्फबाट ५ लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेका छन् भने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतीश सिंहले पनि ५१ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन्।
गत चैत्र ४ गते हङकङमा सम्पन्न ३ हजार मिटरको दौडमा अजितले पहिलो स्थान हात पारेका थिए। एसियाली स्तरमा एथ्लेटिकसमा नेपालको यो पहिलो स्वर्ण पदक हो। अजितले निर्धारित दूरी ८ मिनेट ३०.३२ सेकेन्डमा पूरा गरेका थिए।
स्वर्ण पदक विजेता यादव सप्तरीको राजविराज नगरपालिका १२ (साविकः विषहरिया गाविस–९) निवासी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।