सोलुखुम्बु– जिल्लाको तीन गाउँपालिका जोड्ने दूधकोशी नदीको दिप्लीघाटमा निर्माण हुने बेलिब्रिजका लागि दुई गाउँपालिकाले लगानी गर्ने भएका छन्।
बेलिब्रिज निर्माणका लागि लगानी गर्ने विषयमा महाकुलुङ र सोताङ गाउँपालिकाबीच दुई पक्षीय सम्झौता भएको छ। सोताङको पावै र थुलुङ दूधकोशीको देउसा जोड्ने दूधकोशी नदीमा बेलिब्रिज निर्माणका लागि महाकुलुङ गाउँपालिकाले रु ५० लाख लगानी गर्ने भएको छ।
महाकुलुङ गाउँपालिकाको रु ५० लाख र प्रदेश सरकारको रु ४६ लाखमा अपुग बजेट नदीसँगै जोडिएको सोताङ गाउँपालिकाले लगानी गर्ने सो गाउँपालिकाका प्रवक्ता मनसरी राईले बताए। 'केही दिन अगाडि मात्रै दुई गाउँपालिकाबीच लगानी गर्ने विषयमा सहमति भयो,' प्रवक्ता राईले भने, 'बाह्रै महीना सञ्चालन गर्ने गरी बर्खा अगाडि नै ब्रिज निर्माण गर्ने योजना छ।'
कोशीपारिको साविक पाँच गाविस पावै, सोताङ, बुङ, छेस्काम र गुदेल रहेको उक्त क्षेत्रमा तीन वर्ष अगाडि नै सडक सञ्जाल पुगिसकेको छ। जयरामस्थित दूधकोशी नदीमा रहेको बेलिब्रिजलाई दिप्लीघाटमा प्रयोग गर्ने सडक विभागको निर्णयसँगै सम्पूर्ण सामग्री करीब १५ दिन अगाडिनै दिप्लीघाटमा आइपुगेको छ।
'जसको लागि प्रदेश सरकारबाट रु ४६ लाख बजेट व्यवस्था भए पनि अन्य बजेट व्यवस्थापनको विषय नटुङ्गिँदा काम रोकिएको थियो,' प्रदेशसभा सदस्य उत्तमकुमार बस्नेतले भने, 'अब दुई गाउँपालिकाबीचमा लगानीसम्बन्धी सहमति भयो, काम तत्काल हुन्छ।'
पुल निर्माणको लागि प्राविधिक पक्षको काम भने बाँकी छ। प्राविधिक ‘स्टीमेट’ तयार भएसँगै उपभोक्ता समिति गठनपछि बेलिब्रिज निर्माणको लागि काम सुरु हुनेछ। उक्त नदीमा अहिले १६ वटा ह्युमपाइप राखेर सडक सञ्चालन गरिएको छ। बर्खा याम लागेसँगै खोलामा पानीको बहाव बढ्ने भएपछि ह्युमपाइप झिक्ने गरिएको छ।
तर, अब बन्ने बेलिब्रिज भने बाह्रै महिना राखिने बताइएको छ। उक्त खोलामा बेलिब्रिज निर्माणका लागि गत पुस ५ गतेको प्रदेशमन्त्रिस्तरीय बैठकले निर्णय गरेको थियो।
दूधकोशीमा बेलिब्रिज निर्माण भए जिल्ला सदरमुकाम, सङ्घीय राजधानी काठमाडौं र प्रदेश नं १ को अस्थायी राजधानी विराटनगर आवतजावत गर्न सहज हुनेछ। कृषिउपजलाई बजार लैजान तथा बाह्य सामग्री ल्याउनसमेत सहज हुने स्थानीय व्यापारी फ्रेमराज खत्रीले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।