भैरहवा- रुपन्देहीको तिलोत्तमा नगरपालिकामा दमकल सेवा सुरु भएको छ। सेवाको शुक्रबार आयोजित एक कार्यक्रमबीच नगर प्रमुख वासुदेव घिमिरे र उप–प्रमुख जागेश्वरी चौधरीले शुभारम्भ गरे। ३ हजार ५ सय लिटर क्षमताको दमकलले ३५ मिटर टाढासम्म पानी फ्याँक्नसक्ने बताइएको छ।
प्रारम्भिक चरणमा नगरपालिकामा कायम जनशक्तिबाट दमकल सेवा सुरु गरिने र आगामी दिनमा थप जनशक्तिको व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ। दमकल सञ्चालनका लागि स्थानीय प्रहरी प्रशासनसँग समेत सहकार्य गरिने नगरपालिकाको भनाइ छ।
तिलोत्तमा नगरपालिका स्थापना भएसँगै दमकल खरिद गर्न खोजिएको बताइए पनि साे कार्य सफल हुन सकेको थिएन। यो वर्ष आगलागीका घटना हुने मुख्य जोखिमको समयमा नगरपालिकाले दमकल खरिद गरेकाे हो।

शुभारम्भ कार्यक्रममा नगर प्रमुख घिमिरेले नगरपालिकाले दिनुपर्ने एक अत्यावश्यक सेवा सुरु भएको बताउँदै सरोकारवाला सबैको सहकार्यमा दमकल सेवालाई प्रभावकारी बनाइने बताए। यस्तै प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले दमकल सेवाका लागि आवश्यक थप जनशक्तिको चाँडै नै व्यवस्थापन गरिने स्पष्ट पारे।
नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डेयले दमकल सेवाले नगरबासीलाई खुसी बनाएको बताउँदै यसको जानकारी गाउँ–गाउँसम्म पुर्याइनुपर्नेमा जोड दिए। तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कँडेलले नगरपालिकामा दमकल सेवा सुरुसँगै व्यवसायीहरु समेत उत्साहित भएको जिकिर गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।