कास्की– नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवम् प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठले सन् २०१९ मा आयोजना हुने दक्षिण एशियाली खेलकूद(साग) प्रतियोगिताको मिति अब सार्न नसकिने बताएका छन्।
खेलकूद पत्रकारमञ्च गण्डकीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले डिसेम्बर १ देखि १० गतेसम्मका लागि नेपालमा तय भएको साग आयोजना गर्न सरकारले प्रतिबद्धता जनाएकाले मिति फेरबदल नहुने स्पष्ट पारे।
युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको संयोजकत्वमा तयारी समिति गठन भई सरकारले साग खेलकूदको लागि तयारी शुरु गरिसकेको भन्दै उनले भने,“डिसेम्बरमा गर्ने भनेर सरकारले प्रतिबद्धता जनाएको छ। मन्त्रीको नेतृत्वमा रहेको समिति तयारीमा लागिसकेको छ । अब पनि मिति सर्छ कि भनेर शङ्का गर्नुपर्ने अवस्था छैन, हामी निर्धारित मितिमै सम्पन्न गर्दछौँ ।”
सन् २०१६ को फेब्रुअरीमा भारतको गुहाटीमा भएको १२औँ सागको अवसरमा १३औँ संस्करण नेपालमा आयोजना गर्ने गरी तत्कालीन खेलकूदमन्त्री लगायतबाट झण्डा लिएर आएको र २०१८ मा गर्न तयारी अपुग भएकाले दक्षिण एशियाली ओलम्पिक कमिटिको बैठकले सन् २०१९ को अन्तिममा सारेको बताए। अध्यक्ष श्रेष्ठले सागका २७ खेलमध्ये केही खेल पोखरामा खेलाइने बताए।
भौतिक पूर्वाधारको उपलब्धताको कारणले महिला फुटबल, पुरुष तथा महिला भलिबल, ह्याण्डबल, आर्चरी, प्याराग्लाइडिङ र ट्रायथोलनका खेल पोखरामा खेलाइने बारेमा छलफल भएको जनाकारी दिए।
सन् १९८४ मा नेपाललेनै साग खेलकूदको परिकल्पना गरेर प्रारम्भ गरेकाले पनि साग नेपालीका लागि गौरवको विषय भएको उनले स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।