काठमाडौं- सन् २००६ मा श्रीलंकामा आयोजना भएको दशौं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले १५ स्वर्ण जित्यो। नेपालले जितेका स्वर्णमध्ये भारोत्तोलन विशेष थियो। कारण, नेपाली सेनाका कमलबहादुर अधिकारीले ६९ केजी तौल समूहमा नेपालका लागि पहिलो स्वर्ण जितेका थिए, साग गेम्सकै इतिहासमा।
त्यसयता कमलले ओलम्पिकमा पनि भाग लिए। एसियाड त सामान्य कुरा भइहाल्यो। तर, उनले कुनै पदक जित्न सकेका थिएनन्।
गत साता दक्षिण कोरियाको इन्चोनमा एसियन सिनियर कप र एसियन इन्टर क्लब भोरोत्तोलन च्याम्पियनसिपको नाममा दुईवटा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भएको थियो। यसमा सहभागी भएका कमलले ६ वटा पदक (३–३ कास्य) जितेर कीर्तिमान बनाए।
यतिबेला उनी ७७ केजीमा उत्रिएका थिए। कमलले ७७ केजी स्न्याचमा १ सय १७ र क्लिन एन्ड जर्कमा १ सय ४० केजीसहित कुल २ सय ५७ केजी तौल उठाए।
साग गेम्समा स्वर्ण जित्ने एक्लो नेपाली खेलाडीको इतिहास बोकेका कमलले एसियाली स्तरको प्रतियोगितामा पदक जितेको पनि पहिलो पटक हो।
‘देशका लागि पदक जितेर छातीमा मेडल झुन्ड्याउनु खेलाडीको सबैभन्दा ठूलो सफलता हो,’ साग गेम्समा स्वर्ण जितेको ११ वर्षपछि अर्को अन्तर्राष्ट्रय पदक जित्दाको खुसी उनले नेपाल लाइभसँग साटे।
एक दशकअघि साग गेम्समा ऐतिहासिक पदक जितेपछि उनी एकाएक सेलिब्रेटी बनेका थिए। उनको बाल्यकालको कहानीले अखबारका पाना भरियो।
सानैदेखि गाह्रौ कुरा उचाल्ने र भारी बोक्ने काममा छरितो थिए, कमल। उनले पढ्न भन्दा घरको काममा बढी ध्यान दिए।
चितवनस्थित गीतानगरका स्थायीबासिन्दा कमल ०५४ सालमा नेपाली सेनामा भर्ती भए। सेनामा भर्ती भएको २ बर्षमै कमलको जीवनले नयाँ मोड लियो। उनी त्रिभुवन आर्मी क्लबका लागि छनोट भए। गणमा असजिलो र गाह्रो सामान उचाल्ने काम पनि छिटो र सहज रुपमा गर्थे, कमल।
त्यसैले त्रिभुवन आर्मी क्लबमा उनको नाम सिफारिस हुँदा उनलाई गणकै बलियो सिपाहीको उपमा दिइएको थियो।
‘आर्मीमा आवद्ध भएपछि मात्र भारोत्तोलन खेलबारे जानकारी पाएको हुँ। यसअघि यो खेलबारे मलाई थाहा नै थिएन्,’ उनले भने।
तीन वर्षको नियमित प्रशिक्षणपछि कमलले २०५९ सालमा आयोजना भएको राष्ट्रिय प्रतियोगितामा ६२ केजी तौल समूहमा स्वर्ण जिते। त्यसयता उनले भाग लिएको राष्ट्रिय प्रतियोगितामा दोस्रो हुनु परेको छैन, सधैं स्वर्ण हात पारेका छन्।

कमलले सन् २००६ को साग गेम्सपछि दोहा एसियाडमा सहभागिता जनाए। उनले २०१० को चीनको ग्वान्झाउ र २०१४ को दक्षिण कोरियाको इन्चोन एसियाडमा गरि तीनवटा एसियाडमा भाग लिइसकेका छन्।
सन् २०१० मा बंगलादेशमा आयोजना भएको साग गेम्समा आफ्नो सानो गल्तीका कारण पदक जित्नबाट चुकेका कमल २०१६ मा भारतमा भएको सागमा भने सहभागिता जनाउन पाएनन्। शान्ति सेनाको मिसनमा कंगो गएका कारण उनले भारतमा भएको साग गेम्स गुमाउनु पर्यो।
सन् २००८ को बेइजिङ ओलम्पिकलाई उनी जीवनको अविस्मरणीय क्षण मान्छन्। ‘एउटा खेलाडीका लागि ओलम्पिका भाग लिन पाउनु सबैभन्दा ठूलो कुरा हो। जुन अवसर मैले पनि पाए,’ कमल भन्छन्।
उनी भारोत्तोलन खेलमा पूर्णरुपले समर्पित भएको १८ बर्ष पुगिसकेको छ। यसअवधिमा उनले तीन वटा उमेर समूहमा खेलिसकेका छन्। सुरुमा ५६ केजी, यसपछि ६९ केजी हुँदै अहिले उनी ७७ केजीमा उत्रिन्छन्।
रोचक कुरा, उनी सहभागी तीन वटै उमेर समूहमा उनको नाममा राष्ट्रिय कीर्तिमान छ। ६२ केजीको क्लिन एन्ड जर्कतर्फ उनले कीर्तिमान बनाएका थिए। ६९ केजी र ७७ केजीमा उनको ३–३ वटा राष्ट्रिय कीर्तिमान छ। दुवै तौल समूहमा उनले स्न्याच, क्लिन एन्ड जर्क र कुल गरी ३–३ वटा कीर्तिमान बनाएका हुन्। कमलले एकै पटक २ सय ५० केजी तौल उठाएर कीर्तिमान बनाएका थिए।
उमेरले ४० बसन्त पार गरेका कमल अझै जोशिला र फूर्तिला देखिन्छन्। देशका लागि पदक जित्ने भोक अझै मेटिएको छैन। यतिबेला उनी २०१९ मा नेपालमा आयोजना हुने तय भएको साग गेम्सको तयारीमा छन्। उनको अबको लक्ष्य छ, घरमै आयोजना हुने साग गेम्समा देशका लागि अर्को स्वर्ण पदक जित्ने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।