काठमाडौं– अफगानिस्तानले अस्घर अफगानलाई राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट हटाएको छ।
आइसिसी एकदिवसीय विश्वकप क्रिकेट सुरु हुन एक महिना बाँकी छदा अफगानिस्तान क्रिकेट बोर्डले उनलाई कप्तानबाट बर्खास्त गरेको हो।
अस्घरको स्थानमा अब गुब्लादिन नइबले एकदिवसीय टिमको कप्तानी गर्नेछन्। यस्तै टेस्ट टिमको कप्तानको जिम्मेवारी रहमत साहलाई दिइएको छ। टी–२० को कप्तानमा रासिद खान छन्।
सन् २०१५ मा मोहमद नाबीको स्थानमा अस्घर कप्तानमा चुनिएका थिए। उनी कप्तानमा चुनिएपछि अफगानिस्तानले आइसिसीको पूर्ण सदस्यता पाएको थियो। यस्तै गत महिना देहरादुनमा आयरल्यान्डविरुद्धको टेस्ट उनको कप्तानीमा जितेर अफगानिस्तानले इतिहास बनाएको थियो।
३१ वर्षीय उनको कप्तानीमा अफगानिस्तानले ३३ एकदिवसीय खेल जितेको थियो। यस्तै टी–२० मा अफगानिस्तानले ५९ मध्ये ३७ खेल जितेको थियो।
अफगानिस्तानले आगामी मेमा स्कटल्यान्ड र आयरल्यान्ड भ्रमण गर्दैछ। उसले दुवै देशसँग २–२ एकदिवसीय खेल खेल्नेछ।
अफानिस्तानले विश्वकपमा जुन १ मा अस्ट्रेलियासँग पहिलो खेल खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।