काठमाडाैं- नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बेलायती सेनामा कार्यरत नेपाली सैनिकको न्यायोचित अधिकारका लागि कूटनीतिक पहल गर्न नेपाल सरकारसँग आग्रह गरेका छन्।
गोरखा भूतपूर्व सैनिक संघ गेसोले शुक्रबार राजधानीमा आयाेजना गरेको कार्यक्रममा नेता श्रेष्ठले बेलायती सेनामा कार्यरत नेपाली सैनिकले उठाउँदै आएको माग उनीहरुको व्यक्तिगत हक अधिकारको विषय नभई नेपालको स्वभिमानको लडाइँ भएकाले कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेका हुन्।
सत्तारुढ दलका नेता श्रेष्ठले बेलायतस्थित नेपाली राजदूत, बेलायती सरकारसमेत सहभागी भएर तयार 'पिआार'को प्रतिवेदन कार्यान्वयनका लागि नेपाल सरकारले बेलायती सरकारसँग औपचारिक रुपमा कूटनीतिक पहल गर्नुपर्नेमा जाेड दिए।
उनले भने, 'नेपालीको तर्फबाट नेपालका राजदूत पनि सहभागी भएको र ब्रिटिश सरकारकै तर्फबाट पनि सहभागी भएर तयार पारिएको प्रतिवेदन कार्यान्वयन गर्न औपचारिक कूटनीतिक पहलकदमी ब्रिटिस सरकारसँग गर्नुपर्छ। र दुई सरकारबीच उच्चस्तरीय वार्ता गरेर ब्रिटिश सेनामा कार्यरत नेपाली सैनिकहरुको समान अधिकारको लडाइँलाई सफलताको बिन्दुमा पुर्याउनुपर्छ। न्यायोचित अधिकार हरहालतमा प्राप्त गर्ने पहलकदमी सरकारले अबिलम्ब अगाडि बढाउनुपर्छ।'
नेपाली भएकै कारण शोषित, पीडीत र अन्यायमा परेका कारणले नेपालका लागि गरिएको लडाइँ भएकाले गेसोले उठाउँदै आएको विषय नेपालको स्वाभिमान र राष्ट्रिय सार्वभौमसत्तासँगको लडाइँ भएको टिप्पणी उनले गरे।
कार्यक्रममा गोरखा भूतपूर्व सैनिक संघ गेसोका सभापति कृष्ण कुमार राईले नेपाली सैनिकलाई पनि बेलायती सेना सरहनै सम्मानजनक व्यवहार गर्नेगरी त्रिपक्षीय वार्ताबाट मार्च २२, २०१८ तयार भएको प्रतिवेदन कार्यान्वयन गर्न माग गरे। उनले सो प्रतिवेदन तयार पार्दा नेपाल सरकारको तर्फबाट बेलायतस्थित नेपाली राजदूत पनि सहभागी भएकाले प्रतिवेदन कार्यान्वयनमा आवश्यक पहल कदमी गर्न नेपाल सरकारसँग आग्रह गरे।
बेलायती सेनामा कार्यरत नेपाली सैनिकहरुले बेलायती सेना सरहनै सेवासुविधा र सम्मानजनक व्यवहार गर्न माग गर्दै आएका छन्। गेसोले उठाउँदै आएका मागबारे बेलायतको रक्षा मन्त्रालयसमेतको सहभागीतामा मार्च २२, २०१८ मा त्रिपक्षीय छलफलपछि बेलायत सरकारले सम्बोधन गर्नुपर्ने विषयलाई लिपिवद्ध गरी प्रतिवेदन तयार पारिएको थियो।
अहिलेसम्म पनि सो प्रतिवेदन कार्यान्वयन नभएपछि गेसोले सहमति कार्यान्वनयका लागि कूटनीतिक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।