काठमाडौं– यू–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि बालुवाटारको न्युटन हाइस्कुलले जितेको छ । सोमबार भएको फाइनलमा न्युटनले नुवाकोटको बुङताङ भलिबल टिमलाई ३–० को सोझो सेटले पराजित गर्यो।
न्युटनले बुङताङ भलिबल टिमलाई २५–२०, २५–१७ र २५–१७ ले हरायो । उपाधिसँगै न्युटनले नगद एक लाख र उपविजेता बुङताङले नगद ६० हजार पायो । तेस्रो स्थानको पुरस्कार थ्रीस्टार एकेडेमी काठमाडौं र कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले संयुक्त रुपमा प्राप्त गरे । दुवै टोलीले नगद ३५ हजार हात पारे।
उत्कृष्ट खेलाडी न्युटन स्कुलका अजय सुनार घोषित भए । उनले नगद ५ हजार प्राप्त गरे । बुङताङका आशिष मगर उत्कृष्ट स्पाइकर, न्युटनका छामकुमार कुँवर सेटर, न्युटनकै हरि घर्तीमगर ब्लकर, न्युटनकै ओमप्रसाद घिमिरे उत्कृष्ट सर्भर र बुङताङकै जहिल तामाङ बेस्ट डिफेन्डर चुनिए । उत्कृष्ट सबैले नगद ३ हजार पाए।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने २४ महिला र २४ पुरुष खेलाडी छनोट गरी यू–१८ को राष्ट्रिय टोली निर्माण गरिनेछ । नेपाली टोलीले आगामी चैतमा माल्दिभ्समा आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।