काठमाडौं– राष्ट्रिय फुटबल टिमका फरवार्ड अनिल गुरुङले अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यास लिने घोषणा गरेका छन्।
एएफसी एसियन कप छनोटअन्तर्गत कात्तिक २८ मा फिलिपिन्स विरुद्ध हुने खेलबाट संन्यास लिने अनिलले नेपाल लाइभलाई बताए । फिलिपिन्स विरुद्धको खेलको तयारीका उनी अहिले प्रशिक्षणमा छन्।
'राष्ट्रिय टिमबाट खेल्न थालेको एक दशक हुन लाग्यो । फिलिपिन्स विरुद्धको खेलबाट अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यास लिने योजना बनाएको छु', उनले भने।
फिलिपिन्स विरुद्ध नेपालको जर्सीमा अनिलको ५०औं अन्तर्राष्ट्रिय खेल हुनेछ। 'फिलिपिन्स विरुद्ध मैदान उत्रिँदा मेरो ५० अन्तर्राष्ट्रिय खेल पूरा हुन्छ । नेपाली टिमबाट ५० खेल पूरा गर्नु गर्वको कुरा हो । त्यसैले यही खेलबाट संन्यास घोषणा गर्ने योजना बनाएको हुँ', अनिलले भने।
उनले संन्यासको विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) सँग कुरा भइरहेको र सकारात्मक जवाफ पाएको बताए।
देशका लागि लगातार १० वर्ष खेल्दा गर्व लागे पनि उनले पछिल्लो समय भने केही तिक्तता महसुस गरेका छन् । उनी भन्छन्, 'पछिल्लो समय टिममा नियमित स्थान बनाउन नसक्दा नरमाइलो महसुस भएको छ । आशा छ, फिलिपिन्स विरुद्ध टिममा पर्नेछु।'
अनिलले पछिल्लो पटक गत जेठमा राष्ट्रिय टिमबाट खेलेका थिए । यमन विरुद्धको खेलमा उनी अन्तिम समयमा मैदान उत्रिएका थिए । अन्तिम समयमा मैदान छिरेका अनिलको नेपाली टिमको कप्तानीको रुपमा पनि त्यो अन्तिम खेल थियो।
पछिल्लो पाँच महिनामा नेपालले दुई अन्तर्राष्ट्रिय खेल खेल्दा अनिल टिममा अटाउन सकेनन् । अनिल राष्ट्रिय टिममा पर्न नसकेपछि विराज महर्जनले नेपालको कप्तानी गर्दै आएका छन्।
०७२ मंसिरमा अनिलले पहिलो पटक नेपालको कप्तानको जिम्मेवारी पाएका थिए । साफ च्याम्पियनसिपका लागि घोषणा गरिएको टिममा तत्कालीन प्रशिक्षक प्याट्रिक ओसेम्सले उनलाई कप्तानको जिम्मेवारी दिएका थिए।
नियमित कप्तान सागर थापामाथि म्याच फिक्सिङको अभियोग लागेपछि अनिललाई नयाँ कप्तान बनाइएको थियो । सन् २००९ मा कप्तान बनेका सागरसहितका पाँच फुटबलरमाथि एसियाली फुटबल महासंघले आजीवन प्रतिबन्ध लगाएको थियो।
सागरको स्थानमा कप्तान बने पनि अनिलले नेपाली टिममा नियमित स्थान बनाउन भने सकेनन् । गत वर्ष मलेसियामा भएको सोलिडारिटी कपमा कप्तानी जिम्मेवारी पाए पनि अनिल पहिलो रोजाइको टिममा परेनन् । अधिकांश खेलमा बेन्चमा रहेपछि विराजले कप्तानी गरेका थिए । अनिल गत चैतमा घोषणा गरिएको राष्ट्रिय टिममा ८ वर्षमा पहिलो पटक पर्न असफल भएका थिए।
अनिलले अक्टोबर २००७ मा ओमान विरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए । उनले राष्ट्रिय टिमका लागि अहिलेसम्म ९ गोल गरिसकेका छन्।
२००८ मा पाकिस्तान विरुद्ध पहिलो अन्तर्राष्ट्रिय गोल गरेका उनले सोही वर्ष अफगानिस्तान विरुद्ध गोल गरे । उनले पछिल्लो पटक सन् २०१३ मा नेपालमा भएको साफ च्याम्पियनसिपमा अन्तर्राष्ट्रिय गोल गरेका थिए । दशरथ रंगशालामा भएको खेलमा अनिलले भारत विरुद्ध गोल गरेर नेपाललाई अग्रता दिलाएका थिए।
अनिल सन् २०१२ देखि मनाङ मर्स्याङ्दी क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । ब्रिगेड ब्वाइज क्लबबाट पहिलो पटक ए डिभिजन लिग खेलेका उनले थ्रीस्टार क्लब र न्युरोड टिमबाट पनि खेले।
त्यसअघि अनिलले १३ वर्षको उमेरमा पोखराको सहारा क्लबबाट खेल्दै आफ्नो खेल जीवन सुरु गरेका थिए।
बेलायतको चेल्सी रिजर्ब र वोकिङ क्लबबाट ट्रायल समेत दिएका अनिलले भारतको आइलिग पनि खेलेका थिए । उनी बेलायतमा ट्रायल दिने पहिलो नेपाली फुटबलर हुन् । अनिल सन् २००९ मा आइलिग क्लब सिलोङ लाजोङमा ६३ लाख रुपैयाँमा ३ वर्षका लागि अनुबन्धित भएका थिए।
तस्बिर : एन्फा फेसबुक पेज
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।