काठमाडाैं- काठमाडौंमा ‘नेपाल–भारत फ्रेन्चाइज लगानी मेला’ आयोजना हुने भएको छ।
नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी जेठ १ र २ गते सो मेला आयोजना गर्न लागिएको जानकारी गराएको हो।
नेपालको उद्यम विकास र समृद्धिका लागि आवश्यक लगानी भारतको निजी क्षेत्रबाट पनि भित्र्याउने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन्। २ दिनसम्म चल्ने मेलामा २ मुलुकबीचको शिक्षा, स्वास्थ्य, खाद्यन्नलगायतका क्षेत्रमा गर्ने लगानीका विषयमा विस्तृत छलफल हुनेछ।
महासंघले मेलामा भारतीय उद्योगीहरुले आफ्नो उत्पादनहरु प्रदर्शन गर्ने र नेपालले पनि भारतीय बजारमा लैजाने ब्रान्डहरुको प्रदर्शन गर्ने जनाएको छ। भारतको निजी क्षेत्रले नेपालको होटल व्यवसाय, शिक्षा र स्वास्थ्यको क्षेत्रमा संयुक्त लगानी गर्ने चासो राख्दै आएको छ।
महासंघ र नेपालस्थित भारतीय दूतावासको संयुक्त आयोजनामा हुन लागेकाे मेलाले नेपालमा भारतीय निजी क्षेत्रको लगानी भित्र्याउन सघाउ पुर्याउने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।