म्यानचेस्टर– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले विजयी यात्रा कायमै राखेको छ। लागतार नवौं खेलमा जित निकाल्ने क्रममा सिटीले बलियो प्रतिद्वन्द्वी आर्सनललाई ३–१ गोलले पराजित गरेको छ।
१९ मिनेटमा केभिन डे ब्रुइनले गोल गरेर सिटीलाई अग्रता दिलाए। ६५ मिनेटमा सर्जियो अगुइरोले सिटीको अग्रता दोब्बर पारेका थिए। ६५ मिनेटमा आर्सनलका अलेक्जान्द्रे लाकाजेटेले गोल गरेर सिटीको अग्रता २–१ मा झारेका थिए। तर ७४ मिनेटमा ग्राबियल जेससले अर्को गोल गरेर ३–१ ले अघि बढाए ।
लगातार नवौं खेलमा जित निकालेको शीर्ष स्थानको सिटीले अंक तालिकामा ८ अंकको अग्रता लिएको छ। सिटीको ११ खेलमा ३१ अंक जोडेको छ। दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको समान खेलबाट २३ अंक छ।
आर्सनलाई हराएसँगै सिटीले सिजनमा सबै प्रतियोगितामा गरी १७ खेलमा ५१ गोल गरेको छ। प्रिमियर लिगमा ११ खेलमा अपराजित सिटी च्याम्पियन्स लिग र इएफएल कपको क्वार्टरफाइनलमा पुगिसकेको छ।
आइतबार भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई चेल्सीले १–० ले हराएको थियो। चेल्सीको जितमा अल्भारो मोराटाले ५५ मिनेटमा गोल गरेका थिए। जितपछि चेल्सी २२ अंक जोडेर चौथो स्थानम उक्लिएको छ। चेल्सी भन्दा एक स्थान माथि रहेको टोटनह्यामको २३ अंक छ। टोटनह्यामले आइतबारको खेलमा क्रिस्टल प्यालेसलाई १–० ले हरायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।