धनगढी- सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकामा प्रस्तावित ज्येष्ठ नागरिक मिलनकेन्द्रको भवन निर्माण योजनामा सत्तारुढ दल नेकपाका प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यबीच विवाद बढेको छ।
कैलाली क्षेत्र नम्बर-२(क)बाट निर्वाचित प्रदेशसभा सदस्य रतनबहादुर थापाले सो भवन लम्कीचुहा नगरपालिका-१ मा स्थापना गर्ने प्रस्ताव गरेका थिए। तर सोही निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य झपटबहादुर रावलले वडा नम्बर २, मोतिपुरमा बनाउने प्रस्ताव गरेका थिए।
अहिले सो भवन लम्कीचुहा नगरपालिका-२, मोतिपुरमा रोरा नदीको छेउमा निर्माण प्रक्रियामा अघि बढाइएको छ।
प्रदेश सांसद थापाले वडा नम्बर १ मा रहेको चन्द्रमौलेश्वरको १६ कठ्ठामा सो मिलन केन्द्र स्थापना गर्ने प्रस्ताव गरेका थिए। तर, उनको प्रस्तावमा प्रतिनिधिसभा सदस्य रावल तथा स्थानीय तहले हस्तक्षेप गरेका छन्। प्रदेशसभा सदस्य थापाले भने, 'जेष्ठ नागरिक मिलन केन्द्र भवन निर्माण योजनामाथि प्रतिनिधि सभासदस्य र स्थानीय तहले हस्तक्षेप गरे।'
प्रदेशको सामाजिक विकास मन्त्रालयले स्थानीय तह (लम्कीचुहा नगरपालिका)बाट सो मिलन केन्द्रको भवन निर्माणका लागि तय गरेको स्थानको सिफारिस ल्याउन भनेको थियो। तर नगरपालिकाले प्रतिनिधिसभा सदस्य रावलले वडा नम्बर २, मोतिपुर छनौट गरेकाले सो बजेट त्यही हाल्न सिफारिस गरेको थियो।
प्रदेशसभा सदस्य थापाले बुधबार नेपाल लाइभसँगको कुराकानीमा भने, 'यो भवन नगरपालिकाले जहाँ बनाए पनि मलाई कुनै आपत्ति छैन, तर यसरी प्रदेशको योजनामाथि प्रतिनिधिसभा सदस्यले हस्तक्षेप गर्न मिल्दैन।'
उता, प्रतिनिधिसभा सदस्य रावलले मोतिपुर बजार क्षेत्र भएको र त्यहाँ ज्येष्ठ नागरिकलाई पुग्न, रमाउन सजिलो हुने भएकाले सो भवन निर्माणका लागि प्रस्ताव गरेको दाबी गरे। सांसद रावलले भने, 'योजनामाथि हस्तक्षेप गर्न लागिएको होइन।'
कृषि हाटबजार हटाएर मिलन केन्द्र
कैलालीको लम्कीचुहा नगरपालिका-२ मा कृषि हाटबजार हटाएर जेष्ठ नागरिक मिलन केन्द्र निर्माणको प्रक्रिया अघि बढाइएको छ।
जेष्ठ नागरिक मिलन केन्द्रको भवन निर्माणका लागि लम्कीचुहा नगरपालिकाले कृषि उपज हाटबजार हटाउन पत्रचार गरेका छ। जेष्ठ नागरिक मिलन केन्द्र निर्माण समितिले सो स्थानमा माटो भरानको काम समेत सुरु गरिसकेको छ।
ज्येष्ठ नागरिक मिलन केन्द्र भवन निर्माणका लागि निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत प्रतिनिधिसभा सदस्य रावलले २२ लाख तथा प्रदेशसभा सदस्य थापाले ३८ लाख रुपैयाँ बजेट विनियोजन गरेका छन्।
२०५४/५५ सालमा त्रिनेत्रेश्वरी मन्दिरका नाममा रहेको सो जग्गामा मन्दिरले हाटबजार राख्न सहयोग गरेको थियो। साविकको जिल्ला कृषि कार्यालय, सामुदायिक वन, केयर नेपाललगायतका संस्थाको आर्थिक सहयोगमा कृषि उपज हाटबजार स्थापना भएको थियो।
कृषि उपज हाटबजार भएको स्थानमा भवन निर्माण हुने भएपछि किसान तथा साना व्यवसायीले आफूहरूमाथि अन्याय भएको बताएका छन्।
कृषि उपज संकलन केन्द्रकी अध्यक्ष टहरी बुढाले भनिन्, 'पहिलो कुरा त खाली जग्गा पाउनै मुस्किल भएको थियो। अब यहाँबाट अन्यत्र जान भनिएको छ। अब कहाँ बस्ने? कहाँ तरकारी बेच्ने? समस्या भएको छ।'
उनले नगरपालिकालाई हाट बजार व्यवस्थापनका लागि पहल गरिदिन आग्रह गर्दा अन्यत्र ठाउँ खोज्नु भनी प्रतिक्रिया दिने गरेको बताइन्। सो स्थानमा लम्कीचुहा नगरपालिका र बर्दगोरिया गाउँपालिकाका किसानले तरकारी बिक्री गर्ने गरेका छन्।
सांसद रावलले हाटबजार विस्थापन नहुने गरी सो स्थानमा मिलन केन्द्र स्थापना गरिने बताए। 'कृषि उपज हाटबजारका लागि वडा नम्बर १ को भुरुवामा नगरपालिकाले जग्गाको व्यवस्थापन गरिसकेको छ,' रावलले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।