कैलाली। कञ्चनपुरमा एक प्रहरी जवानले आफैंलाई गोली प्रहार गरेका छन्।
बुधबार राति सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म कञ्चनपुरमा कार्यरत प्रहरी जवान वकिल विष्टले आफैंलाई गोली प्रहार गरेका हुन्।
आज बेलुका साढे ८ बजेको समयमा ड्युटीका क्रममा उनले आफैंमाथि राइफलको गोली हानेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिएसपी उमेशराज जोशीले जानकारी दिए।
उनका अनुसार हातहतियार राखिने स्थान (सेन्ट्री कोत गारद) मा ड्युटीमा रहेका उनले दाहिने कानभन्दा माथिबाट आफूलाई गोली हानेका थिए। एसएलआर राइफलबाट गोली प्रहार गरेको प्रहरीले जनाएको छ। आफैंले हानेर गोलीले घाइते भएका विष्टको अवस्था गम्भीर रहेको छ।
महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा भर्ना गरिएका घाइते जवानलाई स्वास्थ्यमा सुधार नआएपछि थप उपचारको लागि धनगढी रेफरको तयारी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।