काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेको शल्यक्रिया भएको छ। क्रिकेटर लामिछानेको बालाजुस्थित सिल्भरलाइन अस्पतालमा बुधबार शल्यक्रिया भएको हो।
अस्पतालका प्रबन्धक डा अभिषेक राज सिंहका अनुसार लामिछानेको राइट डाइरेक्ट इङ्गुइनल हर्नियाको टोटल एक्स्ट्रा पेरिटोनियल (मास रिपेयर) गरिएको हो।
लामिछानेको शल्यक्रिया डा दीपक शर्मा नेतृत्वको टोलीले गरेको डा सिंहद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। ‘यस अस्पतालको शल्यचिकित्सा विभागद्वारा क्रिकेटर सन्दीप लामिछानेको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको हो। उहाँको शल्यक्रिया शल्यचिकित्सक डा दीपक शर्मा नेतृत्वको टिमद्वारा भएको हो,’ विज्ञप्तिमा भनिएको छ।
क्रिकेटर लामिछानेको उक्त शल्यक्रिया केही समय पहिले नै गर्न चिकित्सकहरुले सुझाव दिएका थिए। तर, व्यस्तताका कारण उनले शल्यक्रियाका लागि समय निकाल्न सकेका थिएनन्।
पछिल्लो समय समस्या बढ्दै गएपछि उनले फुर्सदको समय पारेर शल्यक्रिया गराएका हुन् । अस्पतालमा डा. दिपक शर्मा नेतृत्वको टोलीले उनको शल्यक्रिया गरेको थियो । करिब डेढ घण्टामा शल्यक्रिया सकिएको हो । शल्यक्रियामा सन्दीपलाई पुरै बेहोश बनाइएको थियो ।
सन्दीप ४/५ दिन अस्पतालमा बस्नुपर्ने अस्पतालका प्रवन्धक डा. अभिषेक राज सिंहले बताए । उनी कम्तिमा एक महिना मैदान बाहिर रहने छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।