काठमाडौं – नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सहकारी पीडितहरुको पैसा राज्यले परिपूरण गर्न नसक्ने बताएका छन्।
आज बसेको कांग्रेस संसदीय दलको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक घिमिरेले यस्तो बताएका हुन्।
उनले भने, ‘सरकारसँग त्यति सम्पत्ति पनि छैन । अहिले राज्य सक्षम छैन । जसले अपचलन गरेको छ, त्यसैबाट भराएर फिर्ता गराउनुपर्छ । त्यहीअनुसार अध्यादेश आएको छ । अध्यादेशले सहकारीमा फसेका पैसा फिर्ता ल्याउने मार्ग दिन्छ ।’
उनले रास्वपा सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोध नराखेको पनि बताए । चितवनबाट पोखरा लगेको विषयमा नेता शेखर कोइरालाले कुरा उठाए पनि कानूनअनुसार नै अदालती धरौटीमा छुटेको उनको भनाइ छ ।
हिजोदेखि बसेको संसदीय दलको बैठकमा सांसदहरुले बोल्ने क्रम जारी रहेको बताउदै अर्को बैठक १८ गते बिहान ८: ३० बजे बस्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।