काठमाडौं : आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छिन्।
प्रदेश नम्बर ५ मा आगामी वैशाख ५ देखि ११ गतेसम्म हुने बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिताको नेपालगञ्ज रङ्गशालामा वैशाख ५ गते साँझ भव्य समारोहबीच राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ।
उद्घाटन समारोहमा प्रदेशैपिच्चेका खेलाडीको मार्चपास, सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रस्तुत गरिनेछ। यस्तै प्रतियोगिताको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। सोही रङ्गशालामा वैशाख ११ गते साँझ आयोजित कार्यक्रममा समापन गरिनेछ।
समापन समारोहमा नवौँ राष्ट्रिय खेलकूदको मिति र स्थानसमेत घोषणा हुने राखेपले जनाएको छ।
प्रतियोगिताका खेल भने यही चैत २७ गतेदेखि शुरु हुनेछन्। प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र गैरआवासीय नेपाली सङ्घ (एनआरएन) गरी ११ टोलीको सहभागिता रहनेछ। प्रतियोगितामा एक हजार ३०७ पदकका लागि पाँच हजार २११ खेलाडीले प्रतिष्पर्धा गर्ने छन्। प्रतियोगितामा ३७२ स्वर्ण, ३७२ रजत र ५६३ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।