काठमाडौं– आइपिएल क्रिकेटमा दिल्ली क्यापिटल्सका लागि पछिल्ला दुई खेलमा सबैभन्दा किफायती बलर बन्दै सन्दीप लामिछानेले प्रशिक्षक र कप्तानको मन जितेका थिए।
सुरुवाती २ खेलमा मौका नपाएका नेपालका युवा लेग स्पिनर सन्दीपले कोलकाता नाइटराइडर्सविरुद्धको तेस्रो खेलमा मौका पाएका थिए। सो खेलमा सन्दीपले दुवै टिम मध्ये लागि किफायती बलर बने। उनले खेलमा १ विकेट लिँदा २९ रन दिए।
कोलकाताविरुद्धको खेलमा प्रभावशाली खेल प्रदर्शन गरेपछि सन्दीपले किंग्स ११ पञ्जावविरुद्धको चौथो खेलमा पनि मौका पाए। पञ्जावविरुद्ध सन्दीपले अझ निखारिएको प्रदर्शन गरे। उनले २ विकेट लिँदा २७ रन दिए। यो खेलमा पनि सन्दीप दिल्लीका बलर मध्ये सबैभन्दा किफायती बलर बनेका थिए।
पछिल्ला २ खेलमा प्रभावशाली प्रदर्शन गरेका सन्दीपले बिहीबार राति सवा ८ बजे घरेलु मैदानमा हुने सनराइजर्स हैदरावादविरुद्धको खेलमा पनि मौका पाउने सम्भावना छ। विश्लेषकहरुले यो खेलमा सन्दीप पहिलो रोजाइमा पर्ने आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्।
खेलमा सन्दीपका लागि विश्वकै नम्बर एक बलर रासिद खानसँग आमनेसामने हुने अवसर हुनेछ। टी–२० र एकदिवसीय वरियतामा एक नम्बरमा रहेका अगफानिस्तानका बलर रासिद विरुद्धको टिममा बलिङ गर्न पाउनु सन्दीपका लागि अवसर हो।
अघिल्ला दुई संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका रासिदले जारी आइपिएलमा अपेक्षाकृत प्रदर्शन गर्न सकिरहेका छैनन्। उनले ३ खेलमा २ विकेट लिएका छन्। रोयल च्यालेन्जर्स बैंग्लोरको पछिल्लो खेलमा त उनी विकेटबिहीन बनेका थिए।
दिल्लीको फिरोज शाह कोटला मैदान स्पिनरका लागि राम्रो मानिएको छ। यस्तो अवस्थामा 'सन्दीप र रासिद मध्ये को सफल होलान् ?' हेर्नलायक हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।