म्याड्रिड (एजेन्सी)–मार्को असेन्सियोले सिजनको अहिलेसम्मकै उत्कृष्ट गोल गरेपछि आइतबार राती बेर्नाबेउ रंगशालामा रियल म्याड्रिडले लास पाल्मेसलाई ३–० गोलले पराजित गरेको छ।
च्याम्पियन्स लिगमा टोटेनहामसँग पराजय भोगेपछि केही दबाबमा देखिएको रियलले स्पेनिस ला लिगामा उत्कृष्ट पुनरागमन गर्यो। अहिले रियल अंक तालिकामा ११ खेलमा २३ अंक जोड्दै तेस्रो स्थानमा उभिएको छ।
डिफेन्डिङ च्याम्पियनका लागि ४१ मिनेटमा पहिलो गोल कासेमिरोले टाउकाेले गरे। दोस्रो हाफपछि रियलले दुई गोल थप्यो। ५६ मिनेटमा असेन्सियोले गोल गरे। उनले ३० यार्ड टाढाबाट रकेट झैँ आक्रमण गरेका थिए, जुन गोलमा परिणत भयो। उनको सिजनको यो सातौं गोल थियो।
तेस्रो गोल इस्कोले ७४ मिनेटमा गरे। क्रिस्टियानो रोनाल्डो आइतबारको खेलमा गोलविहिन बने। तर, तेस्रो गोलका लागि उनले इस्कोलाई बल निकाले।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।