मकवानपुर– प्रहरीले २ सय १२ किलो गाँजासहित २ जनालाई पक्राउ गरेको छ।
गाँजा कारोबारमा संलग्न महोत्तरीको बर्दिवास नगरपालिका ११ का ३६ वर्षीय रामजस यादव र १९ वर्षीय उज्ज्वल गुर्मछान मगरलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।
विशेष सूचनाका आधारमा प्रदेश ३ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त गस्ती टोलीले गाँजा ओसारपसारमा प्रयोग गरिएको ना ३ च ३७६९ नम्बरको पिकअप भ्यानसहित दुवैलाई पक्राउ गरेको हो।
मनहरिबाट हेटौंडा जाँदै गरेको भ्यान हेटौंडा उपमहानगरपालिका ३ स्थित तीनताप्के सडकमा चेकजाँच गर्दा ३० वटा पोका बनाई लुकाइराखेको २ सय १२ किलो गाँजा बरामद भएपछि उनीहरुलाई पक्राउ गरिएको मकवानपुर प्रहरीका एसपी मुकेशकुमार सिंहले जानकारी दिए। यादव चालक हुन्।
लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार गाँजा कारोबारमा संलग्नलाई २ वर्षदेखि १० वर्षसम्म कैद र १५ हजार देखि १ लाखसम्म जरिवाना हुन सक्ने प्रहरीले जनाएको छ।
गाँजा नियन्त्रण अभियानलाई कडाइका साथ अघि बढाएको मकवानपुर प्रहरीले यसअघि गत चैत ४ गते १ सय ३ किलो गाँजा र गाँजा तस्करीमा प्रयोग भएको ग१ज ७२१९ नम्वरको बोलेरोसहित चालक मकवानपुरको राक्सिराङ–९ का २४ वर्षीय पूर्णबहादुर थिङलाई पक्राउ गरेको थियो। यसैगरी, त्यसको तीन दिनअघि मात्रै १ सय ८४ किलो गाँजासहित संलग्न ५ जनालाई पक्राउ गरेको थियो। जसमा ३ जना भारतीय नागरिक थिए। उनीहरुको साथबाट प्रहरीले ३ थान भरुवा बन्दुकसमेत बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।