प्रतीकात्मक तस्बिर
काठमाडौं– गत चैत १६ गते राति भारतको नयाँ दिल्लीमा बन्धक बनाएर राखिएका १२ नेपाली महिलाको उद्धार गरियो। दिल्ली महिला आयोग, दिल्ली प्रहरी, नेपाली दूतावास लगायत निकायहरुको संयुक्त टोलीले छापा मारेर ती महिलाको उद्धार गरेको थियो।
इन्डिया टुडेका अनुसार राम्रो काम र कमाइको प्रलोभन देखाएर उनीहरुलाई कुबेत, इराक र दुबई पठाउने भन्दै एक महिनादेखि बन्धक बनाइएको थियो। महिलाहरुका अनुसार नेपालबाट एजेन्टले सुनौली, काँकडभिट्टा, नेपालगञ्ज जस्ता छुट्टाछुट्टै नाका हुँदै भारत पुर्याएका थिए।
सरकारले घरेलु कामदारका रुपमा खाडी जान रोक लगाएसँगै महिलाहरुलाई ललाइफकाई भारत हुँदै खाडी पुर्याउने गिरोह बढ्न थालेको विभिन्न अध्ययनले देखाएको छ। ती १२ जनालाई प्रलोभनमा पारी भारत पुर्याउने उदय राना पक्राउ परिसकेका छन्। उनले प्रतिव्यक्ति २० हजार देखि २ लाखसम्म असुल गरी सेटिङ मिलाएर भारत पुर्याएका थिए।
उद्धार गरिएका महिलालाई आवश्यक कानुनी प्रक्रिया पुर्याएर नेपाल फर्काइने भारतस्थित नेपाली दूतावासले जनाएको छ।
दुई महिनामा दुई सयको उद्धार
अघिल्लो महिना र यस महिना गरेर भारतको बाटो हुँदै खाडी मुलुकमा पुर्याइएका झन्डै दुई सय नेपाली कामदारलाई फर्काइसकिएको छ।
झन्डै डेढ महिनाअघि मणिपुरको बाटो हुँदै म्यानमारको सिमानासम्म पुर्याइएका १ सय ७९ महिला कामदारलाई फर्काइएको थियो। ती महिलालाई माइती नेपाल र पौरखी नेपालले मनोपरामर्शपछि घर फिर्ता गराएको छ। पौरखी नेपालले त्यसबेला २० जना महिलालाई मनोपरामर्श प्रदान गरी परिवारसँग पुनर्मिलन गराएको पौरखी नेपालकी महासचिव सत्रमाया गुरुङले बताइन्।
घरेलु कामदारका रुपमा खाडी
सरकारले वैधानिक तवरमार्फत घरेलु कामदारका रुपमा खाडी मुलुक पठाउन रोक लगाएको छ। तर, खाडीका विभिन्न कम्पनीमा रोजगारी दिलाउने प्रलोभनमा म्यानपावरहरुले महिलालाई घरेलु कामदारका रुपमा पठाउने क्रम घटेको छैन।
महाराजगन्जस्थित तीनजुरे म्यानपावर कम्पनीले गत पुस १७ गते ७ जना महिलालाई कुबेतका सुपरमार्केट र हस्पिटलमा भनेर पठाए पनि घरायसी काममा लगाएको थियो।
म्यानपावर कम्पनीमार्फत श्रम स्विकृति लिएर वैधानिक बाटो हुँदै कुबेत पुगेका महिला श्रमिकहरु नै घरायसी कामदारको रुपमा पुगेपछि शारीरिक तथा मानसिक शोषणमा परेर फर्किएका थिए। त्यतिमात्रै नभएर उनीहरुलाई कुबेतको ८ सय केडीमा किनेको भन्दै त्यहाँका स्थानीयले दुर्व्यवहारसमेत गरेको पीडित महिलाले बताएका छन्। नेपाली महिलालाई इराक, कुबेत, बहराइन लगायत विभिन्न खाडी मुलुकमा पुर्याएर मोलमोलाई समेत गर्ने गरिएको पाइएको छ।
महिला कामदारहरु यसरी म्यानपावरमार्फत विभागबाट श्रम स्विकृति लिएर घरायसी कामदारका रुपमा पुर्याइनुमा वैदेशिक रोजगार विभाग, विमानस्थल अध्यागमन कार्यालय लगायत कर्मचारीहरुकै मिलोमतो भएको हुन सक्ने पीडित पक्षको आरोप छ। पौरखी नेपालकी महासचिव गुरुङ भन्छिन्, ‘अस्पताल, सुपरमार्केट, स्टोरहरुमा क्लिनर कामको माग आएको भन्दै म्यानपावर व्यवसायीले खाडी मुलुकमा घरेलु कामदारका रुपमा पठाउने गरेका थुप्रै घटना छन्।’
जोखिम मोलेरै खाडी
महिला श्रमिकहरुलाई विविध प्रलोभन देखाएर इराक, कुबेत, बहराइन, ओमान लगायतका मुलुकमा पुर्याई बेचबिखनसमेत हुने गरेको खुलेको छ।
यसअघि वैदेशिक रोजगारीमा घरेलु कामदारका रुपमा खाडी पुगेका महिलाहरु यौन शोषण लगायत विभिन्न समस्यामा परेर फर्किन थालेपछि सरकारले घरेलु कामदारका रुपमा खाडी लगायत मुलुकमा जान प्रतिबन्ध लगाएको थियो। तर, यसबारे थप नियमन गर्न नसक्दा अवैध बाटो हुँदै खाडी मुलुकमा घरेलु कामदारका रुपमा पठाउने क्रम बढिरहेको छ।
परिवारको जिम्मेवारी आफू एक्लैले बहन गर्नुपर्ने अवस्थाका महिलाहरु जोखिम मोलेर नै खाडी लगायतका मुलुक जान बाध्य रहेका छन्। भारतको बाटो हुँदै तेस्रो मुलुक जान लागेका महिलाहरुमा पनि धेरैजसो एकल, श्रीमान्सँग सम्बन्ध विच्छेद भएका, अविवाहितहरु नै रहेका छन्।
महिला आफै सचेत हुनुपर्छ : विभाग
रोजगारीका नाममा कुनै देश जानुअघि राम्ररी बुझेर जान विज्ञहरु सुझाउँछन्।
वैदेशिक रोजगार विभागका निर्देशक हरिप्रसाद ज्ञवाली भन्छन्, ‘हामीले श्रमिकहरु समस्यामा नपरुन् भन्ने हिसाबले धेरै सूचना प्रकाशन, प्रसारण गरिरहेका छौं। महिला श्रमिकहरु आफू कुन देश, के कामका लागि जाँदैछु भन्ने कुरा नबुझी हतार गरेर जाँदा समस्यामा पर्ने क्रम बढिरहेको छ।’
खाडी जाने बेलामा कुरा नबुझी सुटुक्क पैसा बुझाउने र समस्यामा परिसकेपछि मात्रै विभागमा आउने हुँदा महिलाहरु समस्यामा पर्ने गरेको निर्देशक ज्ञवाली बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।