दिनेश शर्मा/राजविराज– १६ चैतमा सप्तरीको सुरुङ्गा नगरपालिका–३ का ५० वर्षीय रामभजन यादवले झुण्डिएर आत्महत्या गरे।
घरबाट ५ मिटर उत्तरमा रहेको आँपको रुखमा गम्छाले पासो लगाई झुण्डिएको अवस्थामा उनको शव फेला पर्यो। प्रहरीले शवको पोष्टमार्टम गरी घटनाको अनुसन्धान गरिरहेको छ।
१२ चैतमा सप्तरीमा एकै दिन दुई जनाले आत्महत्या गरे। राजविराज नगरपालिका–५ स्वर्णटोका ४९ वर्षीय बब्लु सिहंको शव आफ्नै कोठाको सिलिङ पंखामा झुण्डिएको अवस्थामा फेला पर्यो। गम्छाको पासो लगाइ उनले आत्महत्या गरेको प्रहरीको अनुमान छ।
प्रारम्भिक अनुसन्धान र शवको पोष्टमार्टम गरी प्रहरीले घटनाको यथार्थ पत्ता लगाउने प्रयास गरिरहेको छ।
यसैगरी सोही दिन राजगढ गाउँपालिका–४, बेल्हीचपेना बस्ने ६० वर्षीय बलराम सुतिहार(शर्मा) ले गोठको कोरोमा डोरी लगाइ झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनायो।
७ चैतमा अग्निसाइर कृष्णसवरण गाँउपालिका–५ का २३ वर्षीय युवा उपेन्द्र साहले आत्महत्या गरे। ५ सय मिटरको दुरीमा रहेको झाप्रोको बलोमा गम्छाले पासो लगाइ झुण्डिएको अवस्थामा उनको शव फेला पर्यो।
४ चैतमा डाक्नेश्वरी नगरपालिका पोखरिया घर भई राजविराज–७ खर्सालटोल बस्ने रामनाथ महतोका १० वर्षीय छोरा राहुलराज महतो कोठाको पंखामा झुण्डिरहेको भेटिए।
गम्भीर अवस्थामा फेला परेका उनलाई दिदीले बचाउन गरेको प्रयास असफल भयो। उपचारका लागि अस्पताल लाँदालाँदै बाटोमै मृत्यु भयो।
उल्लेखित घटना सप्तरीमा आत्महत्याको अवस्था देखाउने प्रतिनिधि घट्ना हुन्। जिल्लाको समग्र अवस्था भने अझै डरलाग्दो छ। तथ्यांकअनुसार चैत महिनाको दोस्रो साता नबित्दै ६ जनाले आत्महत्या गरेका छन्। फागुन महिनामा पनि ६ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ।
चालु आर्थिक वर्षको चैत महिनाभित्रै सप्तरीमा ४८ जनाले आत्महत्या गरिसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। जसमा महिलाको संख्या अधिक छ।
आत्महत्या गर्ने मध्ये २० वर्ष मुनिका युवा र बालबालिका समेत छन्।
यसैगरी, आव ०७४/०७५ मा ३६ पुरुष र ४९ महिला गरी ८५ जनाले आत्महत्या गरेका छन्। जसमा २० वर्ष मुनिका बालबालिका र युवाको संख्या १६ छ। आव ०७३/०७४ मा २६ पुरुष र ३३ महिला गरी ५९ जना तथा आव ०७२/०७३ मा ३१ पुरुष र २२ महिला गरी ५३ जनाले आत्महत्या गरेको सप्तरीका एसपी राजेन्द्र विष्टले जानकारी दिए।
सानातिना कुरामा चित्त नबुझाएर आत्महत्या गर्ने प्रवृत्ति सप्तरीमा धेरै रहेको उनको भनाइ छ। अधिकांशले डोरीमा पासो लगाइ झुण्डिएर तथा विष सेवन गरी आत्महत्या गर्ने गरेको पाइएको छ।
गरिबी, सामाजिक मूल्यमान्यता, मानसिक समस्या, विभिन्न प्राकृतिक विपत्ति, प्रेममा असफलता लगायतका कारणले आत्महत्याका घटनामा वृद्वि भएको प्रहरीे अनुसन्धानले देखाएको छ। रक्सी तथा लागुपदार्थ दुर्व्यसन, व्यक्तित्वमा आउने उतारचढाव आदि पनि आत्महत्याका कारण भएको विष्टले जानकारी दिए।
बढ्दो दरमा रहेको आत्महत्याका घटना नियन्त्रण गर्न नसकेको भयावह अवस्था आउन सक्ने उनको चिन्ता छ। आत्महत्याको दर घटाउन विशेष अभियान चलाउनु पर्ने र सामूहिक प्रयासको आवश्यकता रहेको जानकारहरू बताउँछन्।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार वर्षेनी करिब १० लाख मानिसले आत्महत्या गर्ने गरेको र सन् २०२० सम्ममा यो संख्या करिब २० लाख पुग्ने अनुमान गरिएको छ। विश्वमा हरेक तीन सेकेन्डमा एक जनाले आत्महत्याको प्रयास र ४० सेकेन्डमा एकको मृत्यु हुने गरेको पाइन्छ।
प्राकृतिक तथा मानवनिर्मित प्रकोप, युद्ध, आतंककारी हमला, हत्या र हिंसाबाट हुने वार्षिक मृत्युदरभन्दा आत्महत्याको दर बढी रहेको प्रतिवेदनमा उल्लेख छ।
प्रायः पुरुषभन्दा बढी महिलाले आत्महत्याको प्रयास गरेपनि खतरनाक तरिका अपनाउने हुनाले पुरुषहरू नै बढी मर्ने गरेको पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।