नयाँ दिल्ली (एजेन्सी)– भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली आइतबार २९ वर्ष लागेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को गर्दै कीर्तिमान स्थापित गरिरहेका विराटले पछिल्लो एक वर्षमा थुप्रै उपलब्धि चुमेका थिए।
२०१७ को सुरुवातसँगै महेन्द्रसिंह धोनीले ‘लिमिटेड ओभर’को कप्तानी छोड्ने निर्णय गरेपछि तीन वटै फर्म्याटको जिम्मेवारी विराटको काँधमा आएको थियो । कप्तान बनेपछि विराटले झनै उत्कृष्ट खेल प्रदर्शन गरेका छन्।
विराटले एक वर्षयता ४ वटा टेस्ट शृंखलामा भारतको अगुवाई गरेका छन्, जसमा ४ वटै शृंखला भारतले जितेको थियो । यसबीच भारतले १३ टेस्ट खेल्यो, जसमा १० टेस्टमा जित निकालेको थियो । उनको अघिल्लो गत वर्षको जन्मदिनदेखि हालसम्म भारतले १ टेस्टमा मात्र पराजय भोगेको छ भने २ टेस्ट बराबरीमा टुंगिएको थियो।
यसबीच भारतले ५ वटा एकदिवसीय शृंखला खेलेकोमा सबै जित्न सफल भयो । विराटको कप्तानीमा भारत च्याम्पियन्स ट्रफीको फाइनलमा चीरप्रतिद्वन्दी पाकिस्तानसँग मात्र हारेको थियो।
विराट यस वर्ष एकदिवसीयमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका छन् । उनले २६ एकदिवसीयमा १ हजार ४ सय ६० रन बनाइसकेका छन् । उनी नजिकै अन्य कुनै ब्याट्सम्यान छैनन्।
एकदिवसीयमा सतकको कुरा गर्ने हो भने उनले यसपालि अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङको कीर्तिमान भंग गरे । अब उनीसँग सतकको विषयमा आफ्नै देशका दिग्गज सचिन तेन्दुलकर मात्र अगाडि छन् । सचिनले एकदिवसीयमा ४९ सतक बनाएका थिए । विराटको ३२ सतक पूरा भइसकेको छ।
न्युजिल्यान्ड विरुद्ध हाल भइरहेको टी–२० शृंखलामा उनले एउटा कीर्तिमानलाई फेरि आफ्नो पक्षमा पारेका छन् । उनी अन्तर्राष्ट्रिय टि–२०मा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा न्युजिल्यान्डका म्याकुलमपछि दोस्रो ब्याट्सम्यान बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।