काठमाडौं– सन् २०२० मा जापानमा हुने ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबलको छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपाल पराजित भएको छ।
बुधबार म्यानमारमा भएको खेलमा नेपाललाई घरेलु टिम म्यानमारले ३–१ गोलले पराजित गरेको हो। खेलको २४ मिनेटमा म्यानमारकी यी यी ओले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएकी थिइन्। पहिलो हाफको अन्तिम मिनेटमा निरु थापाले नेपालका लागि बराबरी गोल फर्काइन्।
दोस्रो हाफको सुरुवातमै म्यानमारले पेनाल्टी पायो। ४८ मिनेटमा प्राप्त पेनाल्टीमा विन थिइङ्गी तुनले गोल गोल गरे। तुनले खेलको अन्तिम मिनेटमा म्यानमारका लागि तेस्रो गोल गरेकी थिइन्।

म्यानमारमा सुरु छनोटमा नेपाल, भारत, म्यानमार र इन्डोनेसिया समूह ‘ए’ मा छन् । समूहको अर्को खेलमा भारतले इन्डोनेसियालाई २–० गोलले पराजित गरेको थियो। अब नेपालले शनिबार भारत र मंगलबार इन्डोनेसियासँग खेल्नेछ।

यसअघि म्यानमारको राजधानी यांगुनमा गत नोभेम्बरमा भएको पहिलो चरणको छनोटमा पनि म्यानमार, नेपाल, भारत र बंगलादेश एउटै समूहमा थिए । तीनै खेल नेपालले १–१ को बराबरी खेलेको थियो। अंक तालिकामा भने नेपाल म्यानमार र भारतभन्दा पछाडि परेको थियो। यद्यपी नेपाल उत्कृष्ट तेस्रो टिमका रूपमा छनोटको दोस्रो चरणमा अवसर पाएको थियो।
समूह शीर्ष हुने टिम मात्र तेस्रो चरणमा पुग्नेछन्। तेस्रो चरणका लागि अस्ट्रेलिया, उत्तर कोरिया, दक्षिण कोरिया, चीन र थाइल्यान्ड छनोट भइसकेका छन्। दोस्रो चरणबाट छनोट भएका र सिधैं तेस्रो चरणमा पुगेका टिमलाई २ समूहमा विभाजन गरेछन्। समूहका शीर्ष २ टिमले जापान हुने ओपलम्पिक खेल्ने अवसर पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।