काठमाडौं– बुधबार बिहानबाट समाजिक सञ्जालमा विभिन्न प्रकारका पोष्टहरु बाहिरिएको भन्दै गायिका अन्जु पन्तले आपत्ति जनाएकी छन्। बारा र पर्सामा आएको हावाहुरी पीडितकहाँ धर्म प्रचारमा पुगेको भन्ने आरोप लागाइएको भन्दै उनले आपत्ति जनाएकी हुन्।
पुरानो फोटो राखी नयाँ पोस्ट गरिएको भन्दै उनले आपत्ति जनाएकी हुन्। सही हो या गलत हो भन्ने कुरै नबुझि सामाजिक सञ्जाल प्रयोगकर्ताहरु आफूविरुद्ध खनिएको प्रति उनले दुखेसो व्यक्त गरेकी छन्।
सामाजिक सञ्जाल प्रयोग कर्ताहरुको खण्डन गर्दै भनिन्,‘हामीकहाँ नराम्रो कुराले धेरै प्रश्रय पाउँछ। गत डिसेम्बर महिनामा खिचिएको बासी तस्विरलाई अहिले आएर नकारात्मक रुपमा प्रयोग गरियो। यसले दुःखी बनाएको छ। आफ्नो कमाईको केही हिस्सा सामाजिक काममा खर्च गर्दा पनि वास्तविकता नबुझी टीकाटिप्पणी गर्दिनाले निकै हतोत्साहित बनाउदो रहेछ।’

पन्तले नेपाल लाइभसँग कुरा गर्दै भनिन्, ‘बुधबारबाट यस्ता पोस्ट समाजिक सञ्जालमा आउन थालेका रहेछन्। तर मेरो दैनिकीको कुरा गर्ने हो, म गीत रेकर्डिङमा व्यस्त छु। मेरो आवाजमा सोमबार ३ वटा, मंगलबार २ वटा र आज बुधबार पनि २ वटा गीत रेकर्डिङको समय तालिका छ।’ उनले दुखेसो पोख्दै भनिन्, ‘आज बुधबार बिहान म रेडियो नेपालमा राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिताको निर्णायक बसेर निस्कँदै गर्दा मात्र उक्त फोटोलाई नकारात्मक ढंगबाट प्रयोग गरेको पाएँ। निकै दुःख लागको छ।’
गायिका पन्तले हालै भाइरल बनाइएको फोटो भने गत डिसेम्बर ५ का दिन आफ्नै फेसबुकमा अपलोड गरेकी थिइन्।
उक्त समय पन्तले आफ्नै नामको सामाजिक संस्था ‘अन्जु पन्त फाउन्डेसन’का तर्फबाट तराइका विभिन्न जिल्लामा रहेका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको कुरा सार्वजनिक गरेकी थिइन्।
तर उक्त समय झोला, कापी र पेन्सिलसहितको गाडीपछाडि गायिका पन्त उभिएको सार्वजनिक तस्विरले अन्जुलाई यतिबेला धर्म प्रचारकका रुपमा गलत व्याख्या गरिदिएको छ।
राष्ट्रिय प्रजातन्त पार्टीका नेता कमल थापाले पनि अप्रत्क्ष रूपमा एक ट्वीट गरेका छन्। ट्विटमा हेलो सरकार र प्रधानमन्त्रीलाई समेत मेन्सन गर्दै थापाले लेखेका छन्, ‘राहत वितरणको आवरणमा धर्म प्रचार र बाईबल बाँढ्ने कार्य हुन लागेको जानकारी प्राप्त भएको छ। यो कार्य तत्काल रोकियोस्। यसतर्फ सरकार र सम्बद्ध सबैलाई समयमा नै सचेत रहन आग्रह गर्दछु।’

यस बिषयमा पन्तले भनिन्, ‘फाउन्डेसनले हावाहुरी पीडितलाई २ लाखसम्मको सहयोग गर्ने योजना गरेका छौं। छिट्टै नै उक्त सहयोग पाल, लत्ता कपडा र खाद्यान्नका रूपमा प्रदान गर्ने छौं। तर त्यसमा धर्म प्रचार र व्यक्तिगत स्वार्थको लालच नभई विशुद्ध सहयोगको भावना मात्र रहने छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।