काठमाडौँ- बारा र पर्सामा गत आइतबार साँझ आएको हावाहुरीबाट पीडितका लागि राहत सामग्रीको ढुवानी निःशुल्क गरिने भएको छ।
नेपाल सामान ढुवानी व्यवसायी सङ्घको बुधबार बसेको बैठकले उक्त क्षेत्रमा प्रदान गरिने राहत सामग्री निःशुल्क ढुवानीको व्यवस्था गर्ने निर्णय गरेको हो।
सङ्घका अध्यक्ष श्यामकुमार डङ्गोलले राहत सामग्री लैजाने तयारीमा रहेका विभिन्न सङ्घ, संस्था, व्यक्तिलगायत सहयोगी र दातालाई सङ्घसँग समन्वय गर्न आग्रह गरे। उनले राहत सामग्री काठमाडौँदेखि वितरणस्थलसम्म पुर्याउन सहयोग गरिने बताएका थिए।
सङ्घले हावाहुरीमा परी दिवङ्गत हुनुभएकाको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। एक नेपालीले अर्को नेपालीलाई गाह्रो पर्दा मन खोलेर सहयोग गर्ने संस्कारअनुसार सहयोगी हात अगाडि बढाउन सङ्घले आह्वान गरेको छ।
सङ्घको तर्फबाट उपलब्ध गराउन लागिएको निःशुल्क सेवाका लागि नेपाल सामान ढुवानी व्यवसायी सङ्घ, सानो भर्याङ, काठमाडौँको सम्पर्क नं ०१–४२८६३१२, ४२७१३३१ र ९८४१२८८९६१ मा सम्पर्क गर्न आग्रह गरिएको छ।
काठमाडौँ सामान ढुवानी व्यवसायी सङ्घ, ठूलो भर्याङको सम्पर्क नं ०१–४६७१४५८ वा ९८५१०३०३३८ तथा वीरगञ्ज ट्रान्सपोर्ट एशोसिएशन, आदेश नगर वीरगञ्जका सचिव नवराज अधिकारीको सम्पर्क नं ९८४५०३३३६१ मा सम्पर्क गर्न सहयोगदातालाई अनुरोध गरिएको सङ्घका सचिवद्वय पुष्पराज श्रेष्ठ र अरुणकुमार श्रेष्ठद्वारा जारी वक्तव्यमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।