काठमाडाैं– वन तथा वातावरणमन्त्री शक्तिबहादु बस्नेतले सरकारले कतिपय वन्यजन्तु पाल्न मिल्ने गरी नीति निर्माण गरिरहेको बताएका छन्।
संरक्षित जनावरको चोरी सिकारी रोक्न पनि घरमै जनावर पाल्न दिने नीति प्रभावकारी हुने उनको भनाइ छ। वन्यजन्तु पालन अन्तर्राष्ट्रिय रुपमै प्रचलनमा रहेकाले नेपालमा पनि त्यसो गर्न लागिएको उनले बताए।
वन्यजन्तु पालन गर्न दिँदा कतिपय अवस्थामा संरक्षित जनावरको बिक्री तिवरण हुने सम्भावना रहकाले त्यसतर्फ भने सचेत हुनुपर्ने उनले उल्लेख गरे। ‘वन्यजन्तु पालन गर्न दिइयो भने चोरी सिकारी पनि घट्छ’, मन्त्रालयको आगामी आर्थिक वर्ष ०७६/०७७ को नीति तथा कार्यक्रमबारे छलफल गर्न ललितपुरको गोदावारीमा आयोजित कार्यशालामा मन्त्री बस्नेतले भने, ‘घरमा जनावर पाल्न दिँदा वनको सिकार हुन्छ कि भन्ने पनि चिन्ता छ। तर, मूल प्रवृत्ति भनेको त्यसो गर्दा सिकार घट्छ।’
घरमै जनावर पाल्न पाइने भएपछि मानिसहरू कारबाहीको जोमिख मोलेर संरक्षित जनावरको सिकार गर्न जंगल नजाने उनले स्पष्ट गरे। मन्त्री बस्नेतले नीति तथा कार्यक्रममा वनलाई समृद्धिको आधार बनाउने गरी कार्यक्रम ल्याउन सचिवसहित मन्त्रालयका कर्मचारीलाई निर्देशन दिए।
उनले मन्त्रालयले जनताले देख्न, बुझन र अनुभव गर्न सक्ने खालका कार्यक्रम अघि सार्ने बताए। कूल भूभागको करिब ५४ प्रतिशत हिस्सा ओगटेको वन क्षेत्रको उपयोग वातावरणीय रुपमा मात्र हुन नहुनेमा उनको जोड थियो।
वन क्षेत्रको संरक्षण, उपयोग र त्यसबाट प्राप्त हुने लाभहरूको समुचित वितरण गरिने उनले बताए। विकासवादी मानिसहरूका आँखाबाट हेर्दा वन मन्त्रालयको छवि विकासविरोधी र संरक्षणकर्मीहरूका आँखाबाट हेर्दा विनाशकारीजस्तो हुन गएको चर्चा गर्दै उनले संरक्षण र विकासको सन्तुलन मिलाउन नसक्दा त्यस्तो भएको स्पष्ट गरे।
कार्यक्रममा मन्त्रालयअन्तर्गतका विभिन्न विभाग र महाशाखाले आगामी आर्थिक वर्षका लागि प्रस्तावित कार्यक्रम र बजेटको अनुमानित खाका प्रस्तुत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।