रासस/काठमाडौं– आइतबार आएको विनाशकारी आँधीहुरीको अध्ययन गर्न मौसमविद्को टोली बारा र पर्सा जाने भएको छ।
सानो क्षेत्रमा मात्रै विनाश गर्ने गरी आएको आँधीहुरी असामान्य रहेकाले यस विषयको अध्ययन गर्न मौसमविद्को टोली त्यता जाने महाशाखाका मौसमविद् विभूति पोखरेलले बताए।
आइतबारको आँधीहुरी नेपालका सन्दर्भमा पहिलो ‘एक्सट्रिम केस’(चरम स्थिति) भएको मौसमविद्को भनाइ छ। सानो क्षेत्रमा मात्र यो प्रणाली विकास भएकाले पनि बढी क्षति भएको बताइएको छ।
प्रि–मनसुनका समयमा मेघ गर्जन, चट्याङ र वर्षासँगै हावासमेत चल्ने प्रक्रिया प्रायः हुने गर्छ। आइतबार साँझ भने एक्कासि आएको आँधीलाई हावाहुरी भन्न नमिल्ने मौसमविद् पोखरेलले बताए।
अध्ययन र अनुसन्धानपछि मात्र व्याख्या र विश्लेषण गरिने मौसम पूर्वनुमान महाशाखाले जनाएको छ। यसको अनुसन्धानका लागि आँधी प्रभावित क्षेत्रमा अवलोकनका लागि मौसम विज्ञानको टोली बुधबार त्यसतर्फ जाने भएको हो। टोलीमा वरिष्ठ मौसमविद् सुजन सुवेदी, अर्चना श्रेष्ठ तथा सहायक मौसमविद् गोविन्द झा हुनेछन्।
टोलीको अध्ययन र अनुसन्धानपछि प्रतिवेदनका आधारमा थप अध्ययन गरिने बताइएको छ। आँधीमा परी हालसम्म २८ जनाले ज्यान गुमाएको र ३ सय ८४ जना घाइते छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।