काठमाडौं- बुधबार नेपालको लिग च्याम्पियन मनाङले एएफसी कपको पहिलो खेल खेल्दैछ।
बुधबार अपरान्ह ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा मनाङले बङ्गलादेशी लिग च्याम्पियन ढाका अबहानी लिमिटेडसँग खेल्न लागेको हो।
मनाङको समूहमा भारतको मिनेरभा मञ्जाब र चेन्नई एफसी पनि छ। तीनै टिमसँग मनाङले ‘होम एण्ड अवे’ का आधारमा खेल्नेछ। नेपालले दोस्रो खेल वैशाख ४ गते चेन्नइयनसँग दिल्लीमा खेल्नेछ। यस्तै पन्जावसँग वैशाख १४ गते एन्फा कम्प्लेक्समा हुनेछ। त्यसपछि दोस्रो लेगका खेल हुनेछन्।
मनाङले लिग च्याम्पियनको रुपमा एएफसी कपमा स्थान पक्का गरेको हो। मनाङले पहिलो पटक एएफसी कप खेल्न लागेको हो।
ओलम्पिक छनोट
सन् २०२० मा जापानमा हुने ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबलको छनोटको दोस्रो चरणमा नेपालले पहिलो खेल बुधबार नेपाली समयअनुसार साँझ सवा ५ बजे आयोजक म्यानमारसँग खेल्दैछ।
म्यानमारमा हुने छनोटमा नेपाल, भारत, म्यानमार र इन्डोनेसिया समूह ‘ए’ मा छन् । यसअघि म्यानमारको राजधानी यांगुनमा गत नोभेम्बरमा भएको पहिलो चरणको छनोटमा पनि म्यानमार, नेपाल, भारत र बंगलादेश एउटै समूहमा थिए । तीनै खेल नेपालले १–१ को बराबरी खेलेको थियो। अंक तालिकामा भने नेपाल म्यानमार र भारतभन्दा पछाडि परेको थियो। यद्यपी नेपाल उत्कृष्ट तेस्रो टिमका रूपमा छनोटको दोस्रो चरणमा अवसर पाएको थियो।
भारतमा भएको हिरो गोल्डकपमा पनि नेपालले भारत र म्यानमारसँग भिडेको थियो। नेपालले भारतलाई २–१ ले हराउँदा म्यानमारसँग ३–० को हार बेहोरेको थियो। उपाधि भिडन्तमा नेपाल र म्यानमार भिडेका थिए। फाइनलमा भने नेपाल पराजित भएको थियो।
म्यानमारविरुद्धको पछिल्ला तीन खेलमा नेपालले २ मा हार र १ खेलमा बराबरी खेलेको छ। अझ उसकैको घरेलु मैदानमा भिड्दा नेपाललाई सहज हुने छैन। म्यानमारमा हुने छनोटमा समूह शीर्ष हुने टिम मात्र तेस्रो चरणमा पुग्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।