बार्सिलोना- फरवार्ड लिओनल मेसीले खेलको अन्तिम मिनेट र लुइस सुआरेजले इन्जुरी टाइममा गोल गरेपछि स्पेनिस ला लिगमा बार्सिलोना हारबाट जोगिएको छ। बार्सिलोनाले मंगलबार राति भएको खेलमा भिल्लारियलसँग ४-४ गोलको बराबरी खेलेको हो।
खेलको १२ मिनेटमा काउटिन्होले गोल गरेपछि बार्सिलोनाले अग्रता लिएको थियो। १६ मिनेटमा माल्कोमले बार्सिलोनाको अग्रता दोब्बर पारे।
२३ मिनेटमा चुक्वेजेले गोल गर्दै बार्सिलोनाको अग्रता २-१ मा झारे। दोस्रो हाफको सुरुवातमा भिल्लारियल खेलमा फर्कियो। उसका लागि टोको इकाम्बिले ५० मिनेटमा बराबरी गोल फर्काए।
६२ मिनेटमा इबोराले तेस्रो गोल गरेर भिल्लारियललाई अग्रता दिलाए। ८० मिनेटमा बाकाले भिल्लारियलका लागि चौथो गोल गर्दा बार्सिलोना हार नजिक पुगेको थियो। यद्यपी ८६ मिनेटमा भिल्लारियलका गोन्जालेज दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए।
९० मिनेटमा बार्सिलोनाका लागि लिओनल मेसीले फ्रिकिकमा गरेर गरेर खेललाई ४-३ को अवस्थामा ल्याए। मेसीले सिजनको लिगमा छैटौं पटक फ्रिकिकमा गोल गरेका हुन्। इन्जुरी टाइमको तेस्रो मिनेटमा सुआरेजलले चौथो गोल गर्दा बार्सिलोनाले हार टार्न सफल भयो।
यता अंक तालिकाको दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडले गिरोनालाई २-० ले पराजित गरेको छ।
लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाको ३० खेलबाट ७० अंक छ भने दोस्रो स्थानको एट्लेटिकोको ६२ अंक छ। एक खेल कम खेलेर तेस्रो स्थानमा रहेको रियल म्याड्रिडको ५७ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।