लन्डन- इंग्लिस प्रिमियर लिगमा फुलह्याम रेलिगेशनमा परेको छ। वाटफोर्डसँग ४-१ गोलअन्तरले पराजित भएसँगै फुलह्याम ५ खेलअघि नै रेलिगेशनमा परेको हो।
लिगमा ३३ खेलबाट १७ अंक बटुलेको फुलह्याम १९औं स्थानमा छ। एक खेल कम खेलेको पारको हडर्सफिल्डको १४ अंक छ। रेलिगेशन जोनबाट एक स्थान माथि रहेको वर्नलीको ३२ खेलबाट ३३ अंक छ। त्यसैले अब बाँकी खेलमा जित हात पारेपनि फूलह्यामका लागि रेलिगेशनबाट बच्न पर्याप्त हुनेछैन। हडर्सफिल्ड भने यसअघि नै रेलिगेशनमा परेको थियो।
यता म्यानचेस्टर युनाइटेड भने पराजित भएको छ। म्यानचेस्टर युनाइटेडलाई वुल्भ्सले २-१ गोलले पराजित गरेको हो। वुल्भ्सका लागि जोताले २५ मिनेटमा गोल गरेका थिए। त्यसअघि म्याकटोमिनीले १४ मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए।
५७ मिनेटमा म्यानचेस्टर १० खेलाडीमा सीमित बन्यो। एस्ले योङ दोस्रो पहेँलो कार्ड पाएर मैदान बाहिर जान बाध्य भएका थिए। ७७ मिनेटमा म्यानचेस्टरका स्मलिङले आफ्नै पोस्टमा गोल गरेपछि वुल्भ्सले अग्रता लिएको थियो। लिगमा म्यानचेस्टर ६१ अंक जोड्दै पाँचौ स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।