बार्सिलोना– अर्जेन्टाइन फरवार्ड लिओनल मेसीले बार्सिलोनाका लागि ६ सय खेल पूरा गरेका छन्। शनिबार राति सेभिल्लाविरुद्ध मैदानमा उत्रँदै मेसीले बार्सिलोनाको जर्सीमा ६ सय खेल खेलेका हुन्। बार्सिलोनाले २–१ ले जित निकालेको खेलमा मेसीले गोल गर्न भने सकेनन्।
बार्सिलोनाको एकेडेमीमा हुर्किएका मेसीले सन् २००४ को अक्टोबरमा बार्सिलोनाको ए टिमबाट डेब्यु गरेका थिए। पहिलो सिजनमा मेसीले बार्सिलोनाका लागि ९ खेल खेलेर १ गोल गरेका थिए। सन् २००५ देखि प्रभावशाली प्रदर्शन गर्न थालेका मेसीले १३ वर्ष बार्सिलोनाबाट खेलिसकेका छन्।
मेसीले बार्सिलोनाका लागि सबै प्रतियोगितामा गरी ५ सय २३ गोल गरेका छन्। उनले बार्सिलोनाबाट २९ उपाधि चुमिसकेका छन्। जसमा ८ ला लिगा उपाधि, ५ कोपा डेल रे उपाधि, ६ स्पेनिस सुपर कप उपाधि, ४ युरोपियन च्याम्पियन्स लिग उपाधि, ३ युरोपियन सुपरकप उपाधि र ३ फिफा क्लब विश्वकप उपाधि छन्।
मेसीले बार्सिलोनाको जर्सीमा ला लिगामा ३ सय ९३ खेल, युरोपियन च्याम्पियन्स लिगमा १ सय १९, कोपा डेल रेमा ६२, स्पेनिस सुपर कपमा १७, फिफा क्लब विश्वकपमा ५ र युरोपियन सुपर कपमा ४ खेल खेलेका छन्।
यो पनि : एउटा गरिब फुच्चे कसरी विश्व चर्चित स्ट्राइकर बने?
मेसीले खेलेका ६ सय खेलमध्ये बार्सिलोनाले ४ सय २६ मा जित, १ सय ५ मा बराबरी र ६९ खेलमा पराजय भोगेको छ।
मेसीले ३० नम्बरको जर्सीमा २३ खेल, १९ नम्बरको जर्सीमा ८७ खेल र १० नम्बरको जर्सीमा ४ सय ९० खेल खेलेका थिए।
मेसीले ५ पटक फिफा वर्ष खेलाडी र ४ पटक गोल्डेन बुट अवार्ड जितेका छन्। मेसीले सबैभन्दा बढी खेल रियल म्याड्रिडविरुद्ध ३६ पटक खेलेका छन्। यस्तै उनी एट्लेटिको म्याड्रिड विरुद्ध ३५ पटक, एथलेटिको बिल्बाओविरुद्ध ३२ र सेभिल्लाविरुद्ध ३० पटक मैदानमा उत्रिएका छन्।
मेसी ला लिगमा सर्वाधिक गोल गर्ने खेलाडी हुन्। उनले अहिलेसम्म ला लिगामा ३ सय ६१ गोल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।