पेरिस– उरुग्वेका फरवार्ड इडिन्सन काभानीले फ्रेन्च लिग वानमा सय गोल पूरा गरेका छन्। शनिबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले एन्जर्सलाई ५–० गोलले हराउँदा काभानीले २ गोल गरेका थिए। योसँगै काभानीले फ्रेन्स लिग वानमा गोल संख्या १ सय १ पुर्याएका हुन्।
एन्जर्सविरुद्ध काभानीले ३० र ६० मिनेटमा गोल गरे। केलिएन एमबाप्पेले पाँचौ मिनेटमा गोल गरेर पिएसजीलाई अग्रता दिलाएका थिए। जुलियन ड्राक्सलरले १४ मिनेटमा पिएसजीको अग्रता दोब्बर पारे। ८४ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दा पिएसजीले अग्रता ५–० मा पुर्याएको थियो।
खेलमा नेइमार तिघ्राको समस्याका कारण अनुपस्थित थिए।
सन् २०१३ मा इटालियन क्लब नापोलीबाट पिएसजी आएका काभानीले १ सय ४४ लिग वानको खेल खेलेर सय गोल पूरा गरेका हुन्। काभानीले यो सिजनमा ११ खेलमा १३ गोल गरिसकेका छन्।
लिगमा अपराजित पिएसजी अंक तालिकामा ३२ अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानको मोनाकोको २८ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।