राजकोट (एजेन्सी)– केन विलियम्सनको नेतृत्वमा रहेको न्युजिल्यान्डले भारत विरुद्धको दोस्रो टि–२० क्रिकेट शनिबार राती ४० रनले जितेको छ। प्रारम्भिक ब्याट्सम्यान कोलिन मुनरोका अविजित १ सय ९ रनको सतकीय इनिङ र उत्कृष्ट बलिङ प्रदर्शनका कारण भ्रमणकारी न्युजिल्यान्डले तीन वटा टि–२० शृंखलाअन्तर्गत हाल खेललाई १–१ को बराबरीमा राखेको हो।
तेस्रो तथा निर्णायक खेल मंगलबार हुनेछ। न्युजिल्यान्डले टस जितेर ब्याटिङ गर्ने क्रममा मार्टिन गुप्टिल र मुनरोको प्रारम्भिक जोडीले १ सय ५ रनको साझेदारी गरेको थियो। मुनरोको टि–२० मा करिअरको दोस्रो सतक थियो। गुप्टिलले पनि ४५ रन बनाएपछि किवीले २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९६ रन बनायो।
प्रतिउत्तरमा भारतले दोस्रो ओभरमै आफ्नो प्रारम्भिक जोडी शिखर धवन र रोहित शर्मालाई सजिलै गुमायो। यिनीहरु चाँडै आउट भएपछि भारत सम्हालिन सकेन्। कप्तान विराट कोहलीले ६५ र महेन्द्रसिंह धोनीले ४९ रन बनाउँदै केही समय संघर्ष गरेका थिए। तर, भारतले ७ विकेटको क्षतिमा १ सय ५६ रन मात्र जोड्न सफल भयो।
ट्रेन्ट बोल्टले ४ विकेट लिए। मुनरो ‘म्यान अफ दि म्याच’ बाट सम्मानित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।