काठमाडौं (एजेन्सी)– पाको अल्कासरले दुई गोल गरेपछि स्पेनिस लिगमा बार्सिलोनाले आफ्नो अपराजित यात्रालाई जारी राखेको छ। बार्सिलोनाले आफ्नो घरेलु मैदानमा शनिवार राती सेभिललाई २–१ गोलले पराजित गर्यो।
वर्षाले प्रभावित खेलमा २४ वर्षीय फरवार्डले लिओनल मेसी र लुइस सुआरेजसँग खेल्दै निर्णायक दुई गोल गरेका थिए। उनले पहिलो गोल २३ मिनेटमा सुआरेजको लामो पासमा गरे।
सेभिलका गुइडो पिजारोले ५९ मिनेटमा खेललाई १–१ गोलको बराबरीमा ल्याएको अवस्थामा उनले त्यसको ६ मिनेटपछि नै गोल गरे। अल्कासरले ६५ मिनेटमा इभान राकिटिकको क्रसमा सुन्दर गोल गरेका थिए।
बार्सिलोना ११ खेलबाट ३१ अंक बटुल्दै लिगको शीर्षस्थानमा छ। उसलाई पछ्याइरहेको भेलेन्सियाको २७ अंक छ। भेलेन्सियाले पनि शनिवार रातीको खेलमा लेगानेसलाई ३–० ले पराजित गर्यो।
लिगको तेस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडले पनि डेपोर्टिभो ला करुनालाई १–० ले पराजित गरेको थियो। एट्लेटिकोले २३ अंक बटुलेको छ। एक खेल कम खेलेको रियल म्याड्रिडको २० अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।