काठमाडौं– नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानले जारी इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिताको सुरुवाती दुई खेलमा मौका पाउन सकेनन्। आइपिएल खेल्नुअघि अस्ट्रेलियादेखि पाकिस्तानको फ्रेन्चाइज टी–२० लिगमा धुम मच्चाएका सन्दीपलाई दिल्ली क्यापिटल्सले सुरुवाती दुई खेल नखेलाउदा विश्लेषक समेत चकित परेका थिए।
पहिलो खेलमा मुम्बई इण्डियन्सविरुद्ध जित निकालेको दिल्ली दोस्रो खेलमा पराजित भयो। चेन्नई सुपरकिंग्सविरुद्धको खेलमा दिल्लीले चार जना खेलाडीको विदेशी कोटा समेत पूरा नगरी मैदान उत्रिएको थियो। ३ विदेशी खेलाडी मैदान उतारेको दिल्लीलाई चेन्नईविरुद्धको खेलमा नराम्रो झड्का लाग्यो।
तेस्रो खेलमा भने दिल्लीले सन्दीपलाई मौका दियो। कोलकाता नाइटराइडर्सविरुद्धको खेलमा सन्दीपले आफूलाई प्रमाणित गर्ने क्रममा १ विकेट लिए भने १ रनआउट गरे। खेलमा सन्दीप सबैभन्दा किफायती बलर बनेका थिए। सन्दीपले खेलमा ४ ओभरमा २९ रन खर्चिएका थिए भने २ चौका र २ छक्का दिएका थिए।

कोलकाताविरुद्धको खेलमा प्रभावशाली प्रदर्शन गरेका सन्दीपलाई दिल्लीले सोमबार किंग्स ११ पञ्जावविरुद्धको खेलमा पनि मौका थियो। सो खेलमा पनि सन्दीपले उत्कृष्ट प्रदर्शन गरे। सन्दीपले पञ्जावका साम कुरान र सर्फराज खानलाई सिकार बनाए। ४ ओभरमा २ विकेट लिएका सन्दीपले २७ रन खर्चिए। सन्दीप खेलमा दिल्लीका बलर मध्ये सबैभन्दा किफायती बलर बने।

पञ्जावविरुद्ध २ विकेट लिएसँगै सन्दीप २०१९ को टी–२० खेलमा विश्वका सबैभन्दा बढी विकेट लिने स्पिनर बनेका थिए। सन्दीपले सन् २०१९ को टी–२० खेलमा बढी विकेट लिने खेलाडी बन्ने क्रमा सोमबार पाकिस्तानका साहिद अफ्रिदी र रासिद खानलाई पछि पारे। सन् २०१९ मा अफ्रिदीले २६ विकेट लिएका छन् भने रासिद खानले २५ विकेट हात पारेका थिए। रासिद जारी आइपिएलमा हैदरावादबाट खेलिरहेका छन्। चौथो स्थानमा रहेका बंगलादेशका सकिब अल हसनले सन् २०१९ मा २४ विकेट लिएका छन्।
सन्दीपले सन् २०१९ मा पाकिस्तान सुपर लिगमा ११ विकेट लिएका थिए। यस्तै बंगलादेश प्रिमियर लिगमा ६ खेलमा ४ विकेट लिएका सन्दीपले नेपाली राष्ट्रिय टिमका लागि ५ विकेट लिएका थिए। युएईविरुद्धको ३ खेलको टी–२० सिरिजमा सन्दीपले ५ विकेट हात पारेका थिए।
यस्तै अस्ट्रेलियाको बिग बास लिगमा सन्दीपले सन् २०१८ को डिसेम्बर र २०१९ को जनवारीमा गरी ८ खेलमा ११ विकेट लिएका थिए। जसमध्ये उनले बिग बासमा सन् २०१९ मा ४ विकेट लिए। सोमबार पञ्जावविरुद्ध २ विकेट लिएसँगै सन्दीप सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका हुन्।
सन् २०१९ मा सन्दीपले टी–२० खेलमा लिएका विकेट
पाकिस्तान सुपर लिग - ११ विकेट
बंगलादेश प्रिमियर लिग – ४ विकेट
नेपाली राष्ट्रिय टिमका लागि – ५ विकेट
बिग बास लिग (सन् २०१९ मा मात्र) – ४ विकेट
जारी आइपिएल– ३ विकेट
सन्दीपको गत सिजनको प्रदर्शन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।