काठमाडौं- खानेपानीमन्त्री बिना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच आज मंगलबार खानेपानी मन्त्रालय सिंहदरबारमा शिष्टाचार भेट भएको छ।
सो भेटमा खानेपानीमन्त्री र राजदूतबीच नेपालबाट पिउने पानी निर्यात गर्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो। मन्त्री मगरले नेपालको पानी निर्यात गर्ने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको बताएकी छन्।
नेपालको पानी त्यसै खेर गैरहेकाले विदेश निर्यात गर्ने विषयमा छलफल चलिरहेको जानकारी उनले दिएकी हुन्।
‘पानीको स्रोतको सदुपयोग गरेर स्प्रिङ वाटर निर्यात गर्ने विषयमा मेरो ध्यान बढी केन्द्रित छ। कतार सरकारसँग सहकार्य गरेर अघि बढ्न पाए अझ राम्रो हुन्थ्यो। म एकदम उत्साहित छु,’ मन्त्री मगरले भनिन्।
स्प्रिङ वाटर निर्यात गर्ने विषयमा दुवै देशका प्रतिनिधिबीच थप छलफल गरेर अघि बढ्ने उनले बताइन्।
सो भेटघाटमा मन्त्री मगरले नेपाल र कतार सरकारबीच समझदारी गर्ने विषयमा प्रक्रिया अघि बढाउन खानेपानी विभागका महानिर्देशकलाई निर्देशन दिइन्।
सोही भेटघाटमा सहभागी हुनुभएका विभागका महानिर्देशक सुनिलकुमार दासले स्प्रिङ वाटर निर्यात गर्ने विषयमा विभागले अब छिटै विस्तृत अध्ययन अगाडि बढाउने र दुवै देशबीच सम्झौताको मस्यौदा तयार पार्ने समेत बताए।
नेपालका लागि कतारका राजदूत अल हेलले नेपालको पानी सफा र स्वच्छ रहेकाले यसको बजार कतारमा राम्रो रहेको स्पष्ट पारेका थिए।
‘कतारलाई ग्यास र तेलको अभाव छैन तर शुद्ध पिउने पानीको भने समस्या छ। भोलिका दिनमा पानीको समस्या आउने हामीलाई चिन्ता छ। त्यसैले नेपालको पानी कतारमा लैजाने विषयमा दुवै देशका सरकारबीच समझदारी गर्नु अति आवश्यक छ,’ हेले भने।
नेपालबाट पानी निर्यात गर्ने विषयमा थप छलफल गरिसकेपछि सहमतिमा हस्ताक्षर गर्न कतार सरकार तयार रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।