काठमाडौं- एशियाली फुटबल महासङ्घ (एएफसी) कपको आफ्नो पहिलो खेलमै जित निकाल्ने रणनीतिका साथ नेपालको लिग च्याम्पियन मनाङ मैदान उत्रर्ने भएको छ।
बुधबार अपरान्ह ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा मनाङले बङ्गलादेशी लिग च्याम्पियन ढाका अबहानी लिमिटेडसँग खेल्दैछ।
प्रतियोगिताका लागि मनाङले राम्रो तयारी गरेको प्रशिक्षक छिरिङ लोप्सानले बताए। उनले घरेलु मैदानको फाइदा उठाउँदै जित निकाल्ने दाबी गरे।
'हामीले लामो तयारी गर्न चाहेका थियौं। तर राष्ट्रिय टिममा खेलाडी जानु पर्ने भएकाले त्यो सम्भव भएन। तर पनि हामीले छोटो सयममा राम्रो तयारी गरेका छौं,' लोप्साङले भने,'हामी घरेलु मैदानमा खेल्दैछौं। खेलाडीहरु उत्साहित पनि छन्।'
उनले ढाका विरुद्धको खेल प्रतिस्पर्धात्मक हुने बताए। दोस्रो चरणमा पुग्ने लक्ष्य रहेको बताएका प्रशिक्षक लोप्साङले पाएको अवसर सदुपयोग गर्नु पर्ने बताए।

मनाङको समूहमा भारतको मिनेरभा मञ्जाब र चेन्नई एफसी पनि छ। तीनै टिमसँग मनाङले ‘होम एण्ड अवे’ का आधारमा खेल्नेछ। नेपालले दोस्रो खेल वैशाख ४ गते चेन्नइयनसँग दिल्लीमा खेल्नेछ। यस्तै पन्जावसँग वैशाख १४ गते एन्फा कम्प्लेक्समा हुनेछ। त्यसपछि दोस्रो लेगका खेल हुनेछन्।
मनाङले लिग च्याम्पियनको रुपमा एएफसी कपमा स्थान पक्का गरेको हो। मनाङले पहिलो पटक एएफसी कप खेल्न लागेको हो। मनाङ टिममा गोलकिपरमा विशाल श्रेष्ठ, अशोक बराल र दीप कार्की, डिफेन्डरमा विराज महर्जन, कमल श्रेष्ठ, सुरज विश्वकर्मा, मोहमद सफी, प्रवेश दनुवार, देवेन्द्र तामाङ, छिरिङ गुरुङ र अजिज साहिद छन् । मिडफिल्डरमा सुजल श्रेष्ठ, विशाल राई, हेमन गुरुङ, अन्जन विष्ट, प्रकाश बुढाथोकी, अभिषेक रिजाल र शिव श्रेष्ठ र फरवार्डमा अजिज ओलावले, विमल राना र एडिलाजा सोमिडे छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।