काठमाडौं– एएफसी यू–१९ च्याम्पियनसिप अन्तर्गत समूह 'ए' को छनोट प्रतियोगितामा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ। तेस्रो खेलमा पराजय भोगेसँगै नेपाल आगामी वर्ष इन्डोनेसियामा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा छनोट हुन असफल भएको छ।
शनिबार किर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुजाकोभ रंगशालामा भएको खेलमा नेपाललाई युएईले १–० ले पराजित गरेको हो।
पहिलो हाफमा युएईलाई गोलरहित बराबरीमा रोकेको नेपालले ७२ मिनेटमा गोल खाएको थियो। युएईका लागि खालफान हसन अलले गोल गरेका थिए।
नेपालले खेलको अन्तिम मिनेटमा पेनाल्टीको अवसर पाएपनि गोल गर्न सकेन। नेपालका अभिषेक रिजालले हानेको पेनाल्टीलाई युएईका गोलकिपरले विफल पारेका थिए।
यसअघि नेपाल दोस्रो खेलमा बहराइनसँग ४–० गोलले पराजित भएको थियो। मंगलबार भएको पहिलो खेलमा नेपाल घरेलु टिम किर्गिस्तानसँग २–० ले पराजित भएको थियो।
नेपालले चौथो खेल कात्तिक २२ मा ओमानसँग खेल्नेछ ।
एएफसी यू–१९ च्याम्पियनसिपमा छनोट समूह 'ए' मा नेपालसहित युएई, ओमान, बहराइन र आयोजक किर्गिस्तान गरी पाँच टिम छन् । समूहमा शीर्ष स्थान हात पार्ने टिम एक वर्षपछि इन्डोनेसियामा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा छनोट हुनेछ। दोस्रो स्थान हात पार्ने टिमको पनि छनोट हुने सम्भावना हुनेछ।
सन् २०१८ को अक्टोबरमा इन्डोनेसियामा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा १६ टिमबीच प्रतिस्पर्धा हुनेछ । जहाँ १० वटा समूहको शीर्ष १० टिम तथा दोस्रो स्थान हात पारेका ५ टिम छानिनेछन् । इन्डोनेसिया भने आयोजकको रुपमा छनोट भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।