कोलम्बो– श्रीलङ्कामा केही दिन देखिको सुख्खा मौसमका कारण ५० हजार मानिस प्रभावित भएका छन्।
देशको प्रकोप व्यवस्थापन केन्द्रले सोमबार दिएको जानकारी अनुसार पहाडी मुलुक श्रीलङ्कामा केहीदिन देखि सुख्खा मौसम रहेको छ।
सबैभन्दा धेरै भाभुनिया र जफ्नाको उत्तरी भाग, पुट्टालाम, केगाल्ले, माटालेलगायतका ठाँउ प्रभावित भएको अधिकारीहरूले जनाएका छन्।
विशेष गरेर पहाडी क्षेत्रमा लामो समयदेखि वर्षा नहुँदा पानीको अभाव हुन थालेकोले जनजीवन प्रभावित भएको उनीहरूको भनाइ छ।
प्रकोप व्यवस्थापन केन्द्रका उप निर्देशक प्रदीप कोडिप्पीलीले सुख्खाबाट प्रभावित क्षेत्रमा बस्नेहरूका लागि पानी वितरण गर्ने उपकरणहरू पठाइएको जानकारी दिए।
प्रभावित क्षेत्रका बासिन्दालाई यस्तै मौसम रहेसम्म घरभित्रै बस्न र विशेष ख्याल गर्न आग्रह गरिएको पनि उनले बताए।
मौसम विभागले दिएको पछिल्लो विवरणअनुसार अहिले सुख्खापना थप बढ्दै गएको छ। आगामी केही दिन अझै सुख्खा हुने देखिएको विभागको अनुमान छ। त्यस क्षेत्रको तापक्रम ४१ डिग्री सेल्सियस पुग्ने मौसम अधिकारीहरूले अनुमान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।