काठमाडौं- आइपिएल क्रिकेटमा दिल्ली क्यापिटल्स जित नजिक पुगेर पनि पराजित भएको छ। दिल्लीलाई सोमबार भएको खेलमा किंग्स ११ पञ्जावले १४ रनले पराजित गरेको हो।
पहिले ब्याटिङ गरेको पञ्जावले ९ विकेटको क्षतिमा १ सय ६६ रन जोडेको थियो। पञ्जावका लागि मन्दीप सिंहले सबैभन्दा बढी नटआउट ४३ रन जोडेका थिए। बलिङमा दिल्लीका क्रिस मोरिसले ३ विकेट लिए। यस्तै नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने र कागिसो राबाडाले २-२ विकेट लिए।
१ सय ६७ रनको लक्ष्य पछ्याएको दिल्ली ४ बल खेल्न बाँकी छदा १ सय ५२ रनमा अलआउट भयो।
कुनै समय दिल्ली जित नजिक थियो। उसले १६.३ ओभरसम्म ३ विकेट गुमाउँदा १ सय ४४ रन जोडिसकेको थियो। १६.४ ओभरमा रिशव पन्त ३९ बलमा आउट भएका थिए। त्यसपछि दिल्लीको दशा सुरु भयो। लगत्तैको बलमा क्रिस मोरिस रन नै जोड्न नपाइ रविचन्द्रन आस्विनबाट रनआउट भए। अर्को ओभरमा कोलिन इनग्राम ३८ रनमा आउट भए। यहि ओभरमा हर्षल पटेल शून्यमा पेभिलियन फर्कदा उसले दुई ओभरको बीचमा ४ विकेट गुमायो भने ४ रन मात्र जोड्न सक्यो।
१९औं ओभरमा हनुमा बिहारी २ रनमा मोहमद सामीबाट बोल्ड भए। यो ओभरमा दिल्लीले ४ रन जोडेको थियो। अन्तिम ओभर पहिलो बलमा राबाडा र दोस्रो बलमा सन्दीप लामिछाने शून्यमा आउट हुँदा दिल्ली पराजित हुन बाध्य भयो। १८ औं ओभरको अन्तिम बलमा हर्षल पटेललाई आउट गरेका साम कुरानले अन्तिम ओभरको सुरुवाती २ बलमा विकेट लिएर ह्याट्रिक गरे। उनले २.२ ओभरमा ११ रन खर्चिदा ४ विकेट लिए।
आइपिएलमा दिल्लीले चार खेलमा २ जित र २ हार बेहोरेको छ। पन्जाव ४ खेलमा ३ जित निकालेर दोस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।